काठमाडौ। नयाँ वर्ष २०७३ साल आजबाट शुरु भएको छ। सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ यो नै विक्रम सम्वत्को पहिलो दिन हो । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने आजको दिन, वैशाख संक्रान्ति अर्थात् मेष संक्रान्ति र वर्षको जेठो दिन पनि हो।प्रत्येक व्यक्तिले गतवर्ष गरेका कामको सफलता÷असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने गर्दछन् ।

New Year's Greetings1

आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ।विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ । भारतमा सरकारी सम्वत शक सम्वत भए पनि व्यवहारमा इस्वी सम्वत चलेको छ ।

विक्रम सम्वत् १३५ देखि शक सम्वत, सम्वत् ६३३ देखि मानदेव सम्वत, विक्रम सम्वत् ९३६ देखि नेपाल सम्वत चलेको हो । यी सम्वतमध्ये अहिले मानदेव सम्वतको चलन हराइसकेको छ । विक्रमको १२ औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम सम्वतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासकारहरु बताउँछन् ।

New Year's Greetings

नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिने चलन छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतम विक्रम सम्वत् शास्त्रीय सम्वत भएको बताउँछन् ।

सौरमान र चान्द्रमान दुबैलाई समन्वय गरेर बनाइएको सम्वत नै विक्रम सम्वत हो । विक्रमको अर्थ पराक्रम र आदित्यको अर्थ सूर्य हुन्छ । सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम संवत भनिएको हो।
प्रकाशन मिति–२०७३ साल बैशाख १ गते बुधवार ।