काठमाडौं। हांस्ने र हसाउने एवम् व्यंग्यात्मक महान पर्वको रुपमा गाईजात्रा पर्वलाई लिइने गरेको छ। बर्षभरिको उकुस–मुकुसलाई व्यंग्यको माध्यमवाट तिखो प्रहार गर्ने पर्वको रुपमा पनि गाईजात्रा पर्वलाई लिइने गरेको छ। पछिल्लो समय व्यग्यांत्मक पर्वको रुपमा विकास भएको गाईजात्रा पर्व यथार्थमा मल्ल कालवाट शोकमा डुबेको महारानीलाई सान्त्वना दिन चलाएको पर्व हो।

काठमाडौ उपत्यकामा तत्कालीन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा डुबेपछि रानीलाई सान्त्वना दिन प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक पर्‍यो भनेर देखाउन यो जात्रा निकाल्न थालेको विश्वास छ। यो पर्वमा जसको घरमा कोही वितेको छ भने, उनको सम्झनामा गाई तथा गाईको प्रतिकात्मक रुपमा वनाएर शहर परिक्रमा गर्ने गरिन्छ।

जसवाट आफ्नो घरमा मात्र नभइकन कति धेरैका घरमा शोक परेको छ भनेर सान्त्वना पाउने पर्वको रुपमा लिइने गरेको गाईजात्रा पर्व विशेष गरेर काठमाडौं उपत्यकामा बडा तामझामका साथ मनाइने गरिन्छ। यो गाईजात्रा पर्व केही बर्षअगाडिवाट काठमाडौं उपत्यका वाहिरका विभिन्न शहरहरुमा पनि मनाउन थालिएको छ। गाईजात्रा पर्व विशेष गरी नेवार समुदायले मनाउने पर्व भएतापनि हिजोआज गैरनेवारहरुले पनि मनाउन थालिएको छ।

कोरोनाभाइरस (कोभिड – १९) को महामारीको कारण यो बर्षपनि गाईजात्रा स्वास्थ्य मापदण्ड पालना गरेर सिमित रुपमा मनाउन सरकारले अनुरोध गरेको छ।
गाईजात्राको अवसरमा आज सरकारले काठमाडौं उपत्यकामाा सार्वजनिक बिदा दिएको छ। गाईजात्राको अवसरमा राष्ट्रिय सभागृह, नाचघर तथा प्रज्ञाभवन लगायतका थियटरहरुमा गर्ने गरिएका गाईजात्रे हांस्य–व्यंग्य कार्यक्रमहरु टेलिभिजन तथा युट्युब च्यानलहरुमा हांस्य कलाकारहरुले सिमित गरेका छन्।

थियटरहरुमा पेट मिचिमिची हसाउने हांस्य व्यंग्यात्मक कार्यक्रमहरु कोरोनाकै कारण स्थगित गरेर ती गाईजात्रे कार्यक्रम टेलिभिजन तथा युट्युब च्यानलहरुमा लगिएको कलाकारहरुको भनाई छ।
प्रकाशन मिति–२०७८ साल भाद्र ७ गते सोमवार ।