काठमाडौ। आज विजया दशमीको आठौं दिन अर्थात महाअष्टमी। आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरेर मनाउने कार्य भएको छ। महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ।

आजको दिन शास्त्रसम्मत रूपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाको विशेष पूजाआजा गरिनाका साथै दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गरिन्छ। आजैका दिन राति पशुबलिको विधि र पूजाआजासहित कालरात्रि मनाउने गरिन्छ। कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै भएकाले यसको विशेष महत्व छ।

आजका दिन काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरमा पनि बलिसहित पूजाआजा गर्नेको बिहानैदेखि भीड लागेको छ

यसैगरी काठमाडौं उपत्यका बाहिरका नुवाकोटका देवीघाट र भैरवी, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेल्धुराको उग्रतारा, काभ्रेपलाञ्चोकका चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवतीलगायत शक्तिपीठमा पनि बलिसहित पूजाआराधना गर्ने श्रद्धालु भक्तजनको घुइँचो लागेको छ।

आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेष रूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजाआजा गरिन्छ। यी साधनलाई देवीको शस्त्रास्त्रका रूपमा मानी पूजा गरिन्छ।
देवीका शस्त्रास्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गरिन्छ। पशुबलि नचढाउनेले भने आज पूजाकोठामा काँक्रो, घिरौँला, कुभिण्डो, मूला, नरिवल आदि बलि चढाई पूजाआजा गर्छन्।

आज राति हनुमानढोकाको दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिन्छ।
प्रकाशन मिति–२०७५ साल असोज ३१ गते बुधवार ।