काठमाडौ। युरोपेली युनियन (ईयु) मा बेलायत रहने या नरहने भन्ने विषयमा भएको बेलायतमा भएको जनमत संग्रहवाट बेलायत ईयुवाट शुक्रबारवाट बाहिरिएको छ। जनमत संग्रहमा ५१.९ प्रतिशत बेलायती नागरिकहरुले ईयुवाट बाहिरिने पक्षमा मतदान गरेपछि बेलायत बाहिरिएको बीबीसीले जनाएको छ। ४८.१ प्रतिशतले भने बेलायत ईयुवाट बाहिरिनु नहुने पक्षमा मतदान गरेका थिए।

UK out from Eyu

मतदानको परिणामअनुसार इंगल्याण्ड र वेल्सका नागरिकले ईयुवाट बेलायत बाहिरिनु पर्ने तथा लण्डन, नर्थ आयरल्याण्ड र स्कटल्याण्डका जनताले बेलायत ईयुसंग अझै आवद्ध हुनुपर्ने पक्षमा मतदान गरेको पनि बीबीसीले जनाएको छ।

बेलायतको ऐतिहासिक जनतमत संग्रहमा ४ करोड ६५ लाख बेलायतीहरु मतदान गर्न योग्य भएपनि मतदानमा ७१.९ प्रतिशत मात्र मत खसेको थियो। १ करोड ७४ लाख १० हजार ७ सय ४२ बेलायती नागरिकले बेलायत ईयूबाट बाहिरिनुपर्ने पक्षमा मतदान गरेका थिए भने १ करोड ६१ लाख ४१ हजार २ सय ४१ ले बेलायत ईयूमै आबद्ध भइरहनुपर्ने पक्षमा मत दिए। युरोपेली युनियनमा बेलायत रहने वा नरहने भन्ने सम्बन्धमा बेलायतमा भएको यो दोस्रो जनमतसंग्रह हो।

यसअघि सन् १९७५ मा सम्पन्न पहिलो जनमतसंग्रहमा बेलायतका ६७.२ प्रतिशत जनताले तत्कालीन युरोपियन कम्युनिटी (कमन मार्केट) एरियामा रहनुपर्ने पक्षमा मत दिएका थिए। बेलायतलाई ईयूसँग अलग हुनका लागि आवश्यक प्रक्रिया पूरा गर्न अझै केही दशक लाग्नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

ईयूबाट बाहिरिन बेलायती जनताले मत दिएसँगै शुक्रबार नै प्रधानमन्त्री डेभिड क्यामरुनले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। बेलायत ईयूमा आबद्ध भइरहँदा नै बेलायतलाई फाइदा हुने बताउँदै त्यसका पक्षमा अभियान चलाउँदै आएका क्यामरुनले आगामी अक्टोबर महिनामा औपचारिक रूपमा प्रधानमन्त्री पद छाड्नेछन्।

युरोपेली युनियनबाट बेलायत बाहिरिनुपर्ने भन्दै ‘ब्रेक्जिट’ नामक अभियान निरन्तर चलाउँदै आएका कन्जरभेटिभ पार्टीमा आबद्ध लन्डनका पूर्वमेयर बोरिस जोनसोन अब बेलायती प्रधानमन्त्रीको दाबेदार देखिएका छन्। बेलायत ईयूबाट बाहिरिनुपर्ने पक्षमा निरन्तर आवाज उठाउँदै आएका बेलायतीले इन्डिपेन्डेन्स पार्टीका नेता निगेल फारागेले जुन २३ को ऐतिहासिक दिनलाई बेलायत स्वतन्त्रता दिवसका रूपमा मनाउनुपर्ने धारणा सार्वजनिक गरेका छन्।

ईयूका अन्य २७ सदस्य देशका नेताहरूले बेलायतको ईयू बहिर्गमनका सम्बन्धमा आगामी मंगलबार छलफल गर्ने भएका छन्। दोस्रो विश्वयुद्धको समाप्तिलगत्तै विश्वमा दिगो शान्ति स्थापना गर्ने उद्देश्यले सन् १९५८ मा स्थापित युरोपेली युनियनमा हालसम्म युरोपका २८ मुलुक सदस्य रहँदै आएका छन्।

ईयूबाट बेलायत बाहिरिएपछि विश्वभरबाट नकारात्मक प्रतिक्रिया आएका छन्। बेलायत ईयूबाट बाहिरिनुपर्ने पक्षमा लामो समयदेखि अभियान चलाउँदै आएकाहरूले ईयूबाट बेलायत बाहिरिएसँगै अब उसले स्वतन्त्र रूपमा अघि बढ्नसक्ने भन्दै बेलायत स्वतन्त्र भएको प्रतिक्रिया दिएका छन्।
प्रकाशन मिति–२०७३ साल असार ११ गते शनिवार ।