काठमाडौं। परीक्षा हुनु एक दिन अगावै एक पछि गरेर दुई विषयका प्रश्न पत्र नै सामाजिक सञ्जालवाट आउट भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश नं २ मा माध्यमिक शिक्षा परीक्षा (एसइई)को बाँकी रहेका विषयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

श्रृङ्खलावद्ध रुपमा प्रश्नपत्र बाहिरिएको सन्दर्भमा उत्पन्न परिस्थिति र सम्बन्धित प्रदेशका सामाजिक विकास मन्त्रीको अनुरोधमा प्रदेश नं २ मा यही चैत २१ गतेसम्म सञ्चालन हुने सबै परीक्षा अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गर्न मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ।

मन्त्रालयले प्रश्नपत्र बाहिरिएको सन्दर्भमा प्रश्नपत्रको सिलवन्दी र प्याकेटको सिलवन्दी परीक्षण गरिरहेको जनाउँदै स्थगित भएका परीक्षा यही चैत महिनाभित्रै गर्ने गरी सूचना प्रकाशित गरिने पनि सो मन्त्रालयले जनाएको छ। परीक्षा स्थगित हुँदा २६२ परीक्षा केन्द्रका ७० हजार ५६८ परीक्षार्थी प्रभावित भएको मन्त्रालयमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। अन्य प्रदेशमा भने परीक्षा यथावत सञ्चालन हुने भनिएको छ।

मन्त्रालयले प्रश्नपत्रको सुरक्षा सतर्कता अपनाउन सबै जिल्ला परीक्षा समन्वय समितिलाई निर्देशन दिएको छ । प्रदेश नं २ अन्तर्गतका परीक्षा केन्द्रमा विज्ञान र सामाजिक अध्ययन विषयका प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि परीक्षा सञ्चालन तथा व्यवस्थापन उच्चस्तरीय समितिको बैठकले उक्त निर्देशन दिएको हो।

पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सो अप्रिय घटनालाई आपराधिक घटनाका रुपमा लिएर थप जिम्मेवार र संवेदनशील भई प्रदेश सरकार, स्थानीय तह, अभिभावक, विद्यार्थी सङ्गठन, शिक्षाप्रेमी, शिक्षक समुदायलगायतलाई परीक्षा तयारी र सञ्चालनमा सहजीकरण गर्न अपिल गरेका छन्।
प्रकाशन मिति–२०७५ साल चैत्र १५ गते शुक्रवार ।