काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको आजवाट एक वर्ष पुगेको छ। तर अझै प्रहरी–प्रशासन हत्यारानजिक पुग्न सकेको छैन्। केपी ओली नेतृत्व सरकारको यो ठूलो असफलताको रुपमा पनि लिइएको छ।

निर्मलाको हत्यारा पत्ता नलाग्दा पीडा कम नभई झनै बल्झिँदै गएको निर्मलाका आमा–बुबाको भनाई रहेको छ। न्याय खोज्दाखोज्दै एक वर्ष बितेपनि अझै न्याय पाउन नसक्दा पीडा थपिँदै गएको निर्मलाकी आमा दुर्गादेवी पन्तले अनेक स्थानमा दुःखेसो व्यक्त गर्दैआएकी छन्।

निर्मला हत्याको एक वर्षसम्म आफूले सरकारसँग न्याय मागेको निर्मलाका बुबा यज्ञराज पन्तले पनि पटक पटक भन्दैआएको छ। सरकार बेखवर जस्तै चुप बनेको पाइन्छ। निर्मला पढ्ने सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक जगन्नाथ पाण्डे प्रहरीको प्रभावकारी अनुसन्धान नहुँदा हत्यारा पत्ता लाग्न नसकेको बताउँछन्।

अधिकारकर्मी मीना भण्डारीले अहिलेसम्म सरकारकाले अपराधी सार्वजनिक गर्न नसक्नुमा आशंका जन्मेको नागरिक न्यूजलाई बताएकी छन्। कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यले सबै कोणबाट अनुसन्धान जारी रहेको र अहिलेसम्म ठोस कुनै कुरा पत्ता लाग्न नसकेको बताएका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र जिल्लास्थित प्रहरी टोलीले पनि निर्मला हत्याकाण्डको अनुसन्धान जारी राखेका छन्।

वास्तविकता पत्ता लाग्न नसक्दा अनुसन्धान टोली पनि निरन्तर फेरिएका छन्। अहिले सिआइबीका प्रहरी उपरीक्षक गणेश चन्द नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ भने जिल्लास्थित प्रहरी टोली पनि अनुसन्धानमै खटिएको छ। निर्मला हत्याको छानबिनका क्रममा प्रहरीले ८० जनाको डिएनए परीक्षण गरेको छ।

तत्कालीन प्रहरी उपरीक्षक दिल्लीराज बिष्टलगायत ८० जनाको डिएनए परीक्षण गरिएको छ। तीमध्ये ७० जनाको डिएनए रिपोर्ट निर्मलाको भेजाइनल स्वाबमा फेला परेको स्पोमको प्रोफाइलसँग मेल नखाएको प्रहरीको भनाई रहेको छ। निर्मला हत्याकाण्डमा शंकाको घेरामा राखिएका ६ सयजना भन्दा बढीलाई प्रहरीले सोधपुछ गरेको छ।

प्रहरीले घटनास्थल वरपर र घटना भएका समय कञ्चनपुरमै रहेका, अहिले बाहिर गएकालाई पनि शंकाकै घेरामा राखेको छ। तरपनि, प्रहरी हत्यारासम्म पुग्न नसक्नु र बास्तविक हत्यारालाई पक्रन नसक्नु नै सरकारको कमजोरी भएको छ।
प्रकाशन मिति–२०७६ साल साउन १० गते शुक्रवार ।