काठमाडौं। कतार एयरवेज मार्फत कतारमा आममाफी पाएका ४३ नेपाली कामदार नेपाल आइपुगेका छन्। कतार एयरवेजको विमानमा उनीहरू शुक्रबार दिउँसो काठमाडौं स्थित नेपालको एकमात्र इन्टरनेशनल एअरपोर्ट त्रिभुवन विमानस्थल झरेका हुन्। कतारस्थित नेपाली दूतावासले इदका अवसरमा आममाफी पाएका नेपालीलाई कतारले आफ्नै खर्चमा नेपाल पठाएको जनाएको छ।

दिउँसो साढे १२ बजेतिर आइपुगेको क्युआर ३२३४ नम्बरको सोही उडानमा २० नेपालीको शव पनि ल्याइएको छ। कतारमा लकडाउनको अवधिमा मृत्यु भएका ४० मध्ये २० जनाको शव ल्याइएको हो। ६ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका थिए। १० जनाको परिवारको सहमतिमा कतारमै अन्त्येष्टि गरिएको दूतावासले जनाएको छ।

शुक्रबार शव ल्याइएकामा बर्दियाका शुकराम थारु, सर्लाहीका अरुणकुमार पञ्जीपुर, मस्तक सैक र मनोज पासवान, महोत्तरीका शिवकुमार राउत र अनिल चौधरी, धनुषाका चाउतारवा मण्डल खत्वे, मकवानपुरका जितेन्द्र थापामगर, रुपन्देहीका यमबहादुर थापा, सिराहाका काशीनन्द्र यादव र रुपेशकुमार मण्डल, कपिलवस्तुका मोहम्मद अलामा मुसलमान, लमजुङका कुम्बा तामाङ, बाँकेका भक्तबहादुर थापामगर, सप्तरीका राजेन्द्रप्रसाद मण्डल छन्।

त्यस्तै मोरङका युवराज अधिकारी, भोजपुरका धर्मकुमार थापा र मंगलबहादुर तामाङ, उदयपुरका मीनबहादुर थापा र सुर्खेतका नरबहादुर कामीको शव ल्याइएको छ। यी सबै शव सम्बन्धित परिवारको घरमै पुर्‍याउने व्यवस्था मिलाइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।


प्रकाशन मिति–२०७७ साल असार ५ गते शुक्रवार ।