काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा कोरोनाभाइरस (कोभिड–१९) का कारण व्यापार व्यवसायमा आएको अप्रत्याशित मन्दीलाई दृष्टिगत गरी काठमाडौं महानगरपालिकाभित्र संचालित होटेल, रेष्टूराँ, सपिङ्गमलहरु, डे-नाइट मार्केट लगायत अन्य व्यापार व्यवसायहरुलाई विशेष सहुलियत प्रदान गर्ने नीति लिएको छ।

‘स्थानीय समुदाय, निजी क्षेत्र, सुरक्षा निकाय, यातायात व्यवसायीसँग सहकार्य गरी आर्थिक तथा पर्यटन क्षेत्रमा योगदान दिने निश्चित क्षेत्रहरु रातको समयमा सञ्चालन गर्नका लागि आवश्यक नीतिगत तथा पूर्वाधारको ब्यबस्था मिलाइनेछ,’ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ‘उद्योगी, व्यवसायी तथा स्थानीय समुदायसँगको सहकार्यमा विभिन्न अवसरमा स्वदेशी उत्पादनको व्यापार प्रबद्र्धन मेला आयोजना गरिने बताएका छन्।

त्यस्तैगरेर, आर्थिक समृद्धिमा पर्यटन भन्ने मूलमन्त्रलाई आत्मसात गरी पर्यटन प्रबद्र्धनको माध्यमबाट स्थानीय जनताको जीवनस्तर उकास्न पर्यटन पूर्वाधारको संरक्षण, सम्बद्र्धन र बिस्तारमा जोड दिने नीति लिइने जानकारी पनि मेयर शाक्यले दिएका छन्। काठमाडौं महानगरपालिकाको आन्तरिक श्रोत साधनको प्रभावकारी परिचालन गर्न प्रगतिशील कर प्रणालीको विकास, सक्षम कर प्रशासनको निर्माण, करका दायरा बिस्तार, करको दर पुनरावलोकन, करको क्षेत्र विस्तार र राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्य लिएको पनि मेयर शाक्यले भनेका छन्।

करदाताहरुलाई कर प्रणालीमा स्वेच्छिक रुपमा सहभागी गराउँदै समग्र राजस्व प्रशासनलाई करदातामैत्री बनाउने काठमाडौं महानगरपालिकाको नीति रहेको र कर तथा गैरकर राजस्व अनुगमन कार्यलाई कडाइका साथ लागु गर्न विशेष अनुगमन टोली गठन गरी परिचालन गर्ने, काठमाडौँ महानगरपालिकाका सम्पूर्ण करदाताहरुको तथ्याङ्क संकलन गरी अभिलेख अध्याबधिक गर्ने, शहरको सौन्दर्य र सुरक्षामा आँच आउने गरी विज्ञापन सामाग्रीहरु राख्ने कार्यलाई पूर्णतः निषेध गर्ने नीति पनि काठमाडौं महानगरपालिकाले लिएको मेयर शाक्यले भनेका छन्।

आ.व.२०७७÷०७८ लाई करदाताहरुको अभिलेखन वर्ष घोषणा गरी बैज्ञानिक र एकिकृत करदाता अभिलेख तयार गर्न आवश्यकतानुसार व्यवस्थापनमा स्नातक÷स्नातकोत्तर अध्ययनरत जनशक्ति परिचालन गर्ने, कोभिड–१९ को महामारीबाट प्रभावित करदाताहरुलाई उचित छुट सहुलियत दिने जस्ता नीति पनि महानगरपालिकाले लिएको मेयर शाक्यको भनाई छ।


प्रकाशन मिति–२०७७ साल असार ५ गते शुक्रवार ।