लुम्बिनी । कपिलवस्तुको कपिलधाममा वरिष्ठ कवि एवम् नाटककार वासु शशी र वरिष्ठ साहित्यकार प्रा. डा.कुमारबहादुर जोशीको शालिक अनावरण भएको छ। वासु शशी स्मृति परिषद्को आयोजना र लुम्बिनी वाङमय प्रतिष्ठानको सह–आयोजनामा उक्त अनावरण कार्यक्रम भएको हो।

परिषद्का अध्यक्ष वरिष्ठ साहित्यकार गणेश रसिकको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. रमेश ढकालले वासु शशीको र विशिष्ट अतिथि बागमती प्रदेशका सांसद नरोत्तम वैद्यले डा.कुमारबहादुर जोशीको शालिक अनावरण गरेका थिए।

अनावरण कार्यक्रममा प्रा. रमेश ढकाल, प्रदेश सांसद नरोत्तम वैद्य, गणेश रसिक, लु.वा.प्र.का अध्यक्ष हिमलाल ज्ञवाली, परिषद्का सचिव प्रद्युम्न जोशी, साहित्यकारहरु हिरण्यकुमारी पाठक, श्याम प्रधान, ध्रुव मधिकर्मी, यादव भट्टराई, शङ्कर आचार्य, ऋषि आजाद लगायतले वासु शशी र डा.जोशीको योगदानबारे चर्चा गर्दै कपिलधाममा एक सय एक जना दिवङ्गत स्रष्टाको शालिक स्थापना गर्ने ऐतिहासिक कार्ययोजनाको चर्चा एवम् प्रशंसा गरेका थिए।

कार्यक्रममा वासु शशीकी सुपुत्री नीना जोशी तथा डा. कुमारबहादुर जोशीकी श्रीमती सरस्वती जोशी लगायत विभिन्न स्थानीय स्रष्टाहरूको उपस्थिति रहेकोे थियो।
प्रकाशन मिति–२०७६ साल फागुन २७ गते मंगलवार ।