भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। उक्त अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया महिलाको गएराति मृत्यु भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले वताएकी छन्।

अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले कोरोना संक्रमित भनिएकी महिला दम, उच्च रक्तचापलगायत समस्याका कारण उपचारका लागि नागरिक अस्पताल आएको वताएका छन्। उक्त महिलाको अस्पताल ल्याउँदा नै मृत्यु भइसकेको जानकारी निर्देशक श्रेष्ठले दिएका छन्।

कोरोनाका कारण महिलाको मृत्युपछि अस्पतालको आकस्मिक र ओपिडी दुई दिनका लागि बन्द गरिएको छ। बिरामीसँग सम्पर्कमा आएका अस्पतालका चिकित्सक र नर्सलाई क्वारेन्टाइनमा राख्ने र अस्पताललाई भाइरस निर्मलिकरण गरेर आइतबारदेखि मात्रै सञ्चालन गर्ने अस्पतालले जनाएको छ।

(मध्यपुर थिमिवाट सुरेन्द्र श्रेष्ठको सहयोगमा ।)
प्रकाशन मिति–२०७७ साल भाद्र १२ गते शुक्रवार ।