काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारीका कारण जारी लकडाउनले नेपालमा शिक्षा क्षेत्रलाई धेरै नै मार पारेको छ। गत चैत ११ गतेदेखि निरन्तर लकडाउन जारी हुंदा विद्यालयको पठन–पाठन लथालिंग भएको छ। विद्यार्थीहरुको नयाँ शैक्षिक सत्र नै बेहाल हुने अवस्था आइपरेको तितो यथार्थ छ।

विद्यार्थीहरु कहिले स्कुल खोल्ने हो भनेर हरेक विहान अभिभावकहरुलाई सोध्ने गरेका छन्। हरेक घरमा अभिभावकहरु आफ्ना छोरा–छोरीका अमूल्य समय त्यतिकै वितिरहेकोमा दिक्दार वनेका छन्। विद्यार्थीहरु पनि घर बस्दाबस्दै हैरान भैसकेका छन्। निजी विद्यालयका संचालक तथा शिक्षकहरु सडकमा आउनुपर्ने अवस्था आइसकेको छ।

सरकार सरकारी विद्यालयका शिक्षकहरुलाई घरैमा राखेर तलब ख्वाइराखेका छन्। निजी विद्यालयको विषयमा संवोधन गर्न सरकार मौन वसेको वर्तमान अवस्थामा नेपालको सुदुरपश्चिम क्षेत्र कर्णाली प्रदेशमा निजी विद्यालयहरुले साउनदेखि पठन–पाठन सुरु गर्ने निर्णय गरेका छन ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) कर्णालीले यही साउन ४ गते आइतबारदेखि पठन–पाठन सुरु गर्ने तयारी गरेको हो। लकडाउन खुकुलो बनाए पनि सरकारले विद्यालयलाई तत्काल खुला नगर्ने क्षेत्रमा राखेको छ । तर आफूहरूले सामाजिक दुरी कायम गरेर पठन–पाठन सुरु गर्न लागेको प्याब्सन कर्णालीका अध्यक्ष नैनसिंह खत्रीले बताएका छन्।

आवश्यक सुरक्षा मापदण्ड र भौतिक दुरी कायम गरी पहिलो चरणमा कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई कक्षा कोठाबाटै पठन–पाठन सुरु गर्न लागिएको अध्यक्ष खत्रीको भनाइ छ। प्रत्येक विद्यालयमा एक–एकजना विद्यालय नर्सको अनिवार्य व्यवस्था गरिने छ। एउटा बेन्चमा एकजना र एउटा कक्षा कोठामा १५ जनामात्रै विद्यार्थी राखिने छ।

प्रत्येक कक्षा कोठामा हात धुने साबुन पानीको छुट्टाछुट्टै व्यवस्था गर्ने, विद्यालय प्रवेश गर्नुअघि थर्मल गनमार्फत ज्वरो चेकजाँच गर्ने, कक्षाकोठा स्यानिटाइज गर्नेलगायतका व्यवस्था मिलाइने जनाइएको छ। प्याब्सनले विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि नियामक निकायहरुले भने केन्द्र सरकारको निर्णयविपरीत विद्यालय सञ्चालन गरे कडा कारबाही गर्ने चेतावनी दिएका छन्। वीरेन्द्रनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख उप–सचिव ललितबिक्रम सिंहले केन्द्र सरकारले विद्यालय सञ्चालनका लागि स्पष्ट निर्देशन नदिएसम्म विद्यालय सञ्चालन गर्न नमिल्ने बताए।

कर्णाली प्रदेशका कक्षा ९ र १० कक्षा सञ्चालन हुने निजी विद्यालयहरुको संख्या ७७ छ। तीमध्ये ५४ विद्यालय सुर्खेत जिल्लामा छन्। प्याब्सनका अनुसार सल्यानमा पाँच, रुकुम पश्चिममा सात, जुम्लामा चार, मुगु र दैलेखमा दुई–दुई, कालीकोट, डोल्पा र हुम्लामा एक–एक विद्यालय छन्।


प्रकाशन मिति–२०७७ साल असार ३० गते मंगलवार ।