काठमाडौं। नेपाल सरकारको उपल्लो सरकारी ओहदा सचिव पदमा विशेष गरेर ब्राम्हण–क्षेत्रीको नै हालीमुहाली हुने गरेकोमा पहिलो पटक दलित समुदायका व्यक्ति पनि पुग्न सफल भएका छन्। उपल्लो जातिको मात्र बोलवाला बन्ने गरेको सचिव पदमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले डा.मानबहादुर बीकेलाई सचिवमा बढुवाको निर्णय गरेको हो।

लोकसेवा आयोगको अध्यक्ष उमेशनाथ मैनालीको अध्यक्षतामा रहेको बढुवा समितिको बैठकले सचिव बढुवाका लागि बीकेसँगै गोकर्णमणि दुवाडी र मधु मरासिनीको नाम सिफारिस गरेको थियो । तीनमध्येबाट बीके सचिव बढुवा भएका मन्त्रिपरिषद स्रोतले बताएको छ।

डा.बीके हाल युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत रहेका छन्। यसअघि खरिदारबाट सरकारी सेवामा प्रवेश गरेका डा.बीके विसं.२०६९ सालमा दलित समुदायबाट पहिलो पटक प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनेका थिए। बर्दिया, चितवन, मकवानपुर, सिरहा, तनहुँलगायतका जिल्लामा सीडीओ बनेर काम गरेका उनी श्रम विभागको महानिर्देशक, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव र प्रदेश ५ को प्रदेश सचिवको जिम्मेवारीमा रहेर पनि काम गरिसकेका छन्।

पाल्पाको निम्न वर्गीय परिवारमा जन्मिएका बीकेले ब्राण्डाइज युनिभर्सिटी अमेरिकाबाट पोस्ट डक्टरेट गरेका छन् । वर्तमान सफलतालाई डा.बीकेले नियमित संघर्षको प्रतिफल भएको बताउँछन्। विद्यालय तहमा पढ्दा शुल्क तिर्ने रकम नहुँदा हजुरबासँगै आरनमा काम गरेको र आरनमा बनाएका भाँडा बेचेर पढाइ खर्च जुटाएको डा.बीकेले सम्झेका छन्।

दलित भएका कारण विद्यालयमा अध्ययन गर्दापनि आफू विभेदको शिकार बनेको त्यो पललाई पनि सम्झेका छन्। स्कुल पढ्दा कयौंपटक साथीहरुले किताब फालिदिएको, काठमाडौंमा पढ्न बस्दा बानेश्वर थापागाउँमा डेराबाट निकालिएको, सरकारी सेवामा प्रवेश गरेपछि कार्यालय सहायकले पनि विभेद गरेको डा.बीके सम्झन्छन् ।
प्रकाशन मिति–२०७७ साल असार ३० गते मंगलवार ।