काठमाडौं। जम्मु कश्मीरको संवैधानिक स्वतन्त्रता नियन्त्रणमा लिएसँगै भारतीय सेनाले कश्मीरका सर्वसाधारणलाई कुटपिट गरेको बताइएको छ। भारत सरकारको निर्णयको विरोध गर्नेहरुलाई नियन्त्रणमा लिएर यातना दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।

सुरक्षाकर्मीले टेलिफोनका तारले कुटपिट गरेको र करेन्टसमेत लगाएर याताना दिएको पीडितहरुलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
भारतीय सुरक्षाकर्मीहरुले आफूहरुको विरोध गर्नेहरुमाथि छानी छानी कारवाही गरेको समाचारमा जनाइएको छ ।

रातको समयमा गस्ती गर्ने बहानामा स्थानीयलाई निर्घात कुटपिट गरेर कठोर याताना दिने गरेको बीबीसीले उल्लेख गरेको छ। भारतीय सेनाले आफूमाथि लागेको आरोपलाई आधारहीन र बिनाप्रमाणको भएको बताएको छ।

केन्द्र सरकारले जम्मू कश्मीरको विशेष अधिकार नियन्त्रणमा लिएसँगै उक्त स्थानमा ठूलो संख्यामा भारतीय सुरक्षाफौज तैनाथ गरिएको छ। मुसलमान समुदायको बाहुल्यता रहेको जम्मू कश्मीरलाई लिएर लामो समयदेखि भारत र पाकिस्तानबीच तनावपूर्ण सम्बन्ध रहँदै आएको छ।
(बीबीसी नेपाली सेवाको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल भदौ १३ गते शुक्रवार ।