काठमाडौं। नेपाली काङ्ग्रेसको काठमाडौंमा जारी महासमिति बैठकमा विभिन्न चार विषयका प्रतिवेदनमाथि महासमिति सदस्यले आआफ्ना धारणा राख्नेक्रम शुरु भएको छ। शुक्रबारदेखि यहाँ शुरु भएको महासमिति बैठकको बन्दसत्रमा राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथि छलफल शुरु भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्।

शनिबार उद्घाटनपछि बन्दसत्र शुरु भएको हो। उक्त प्रतिवेदनमध्ये राजनीतिक प्रस्ताव उपसभापति विमलेन्द्र निधिले शनिबार बैठकमा पेश गरेका थिए। अन्य तीन प्रस्ताव क्रमशः महामन्त्री डा. शशांक कोइराला, सहमहामन्त्री डा प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादवले आइतवार प्रस्तुत गरेका हुन।

जारी बैठकमा बोल्ने महासमिति सदस्यले राजनीतिक प्रतिवेदनमा थप परिमार्जन गरेर जानुपर्ने धारणा राखेको प्रवक्ता शर्माले बताएका छन्। उक्त प्रतिवेदनमा पार्टीका सिद्धान्त र विचारका सम्बन्धमा गरिएका व्याख्या, अन्य दल र सरकारका सम्बन्धमा अभिव्यक्त धारणाका सम्बन्धमा महासमिति सदस्यले फरक–फरक धारणा राखेका छन्।

कांग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न तयार गरेको विधान मस्यौदा प्रतिवेदनमा भने शीर्ष नेताबीच सहमतिको प्रयास जारी छ। शीर्ष नेताबीच सहमतिपश्चात् विधान मस्यौदाको प्रतिवेदन अर्का महामन्त्री पूर्णबहादुर खड्काले महासमिति बैठकमा पेश गर्ने बताइएको छ। महासमिति सदस्यद्वारा पार्टीेको एकता र बृहत्तर हितमा जोड दिएका छन्।

प्रवक्ता शर्माका अनुसार बैठकमा यसअघिका २४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनीत महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झण्डै एक हजार ७०० प्रतिनिधि सहभागी छन् । बैठक पुष ३ गतेसम्म चल्ने भएको छ।
प्रकाशन मिति–२०७५ साल पुष १ गते आइतवार।