काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न र गराउनको निमित्त देशभर आव्हान गरिएको छ।

सोही आव्हान अनुरुप शनिबारका दिन कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर ७ स्थित फोर्सपार्कमा बृहत रक्तदान कार्यक्रम भएको छ। सूर्य सन्देश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा उक्त बृहत रक्तदान कार्यक्रम भएको हो।

बृहत रक्तदान कार्यक्रममा स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले स्वयंसेवी रक्तदाताहरूलाई डोनर पीन लगाई सम्मान जाहेर गरेका थिए ।

त्यसैगरेर,कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले स्वयंसेवी रक्तदाताहरुलाई प्रशंसा–पत्र प्रदान गरेका थिए। आयोजक सहकारीका अध्यक्ष शैलेन्द्र रायमाझीको सभापतित्वमा सम्पन्न सो रक्तदान कार्यक्रममा १०५ जनाबाट स्वयंसेवी तवरले रक्तदान गरेका थिए।


प्रकाशन मिति–२०७७ साल भाद्र २० गते शनिवार ।