काठमाडौं। काठमाडौं उपत्यकामा खटिएका नेपाल प्रहरीको सुरक्षाकर्मीलाई पहिलो पटक कोरोनाभाइरसको संक्रमण देखिएको छ। इमेज खवरका अनुसार, महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत २ जना प्रहरीलाई आज बुधवार कोरोना संक्रमण देखिएको हो। २ दिनअघि कोरोना परीक्षणका लागि दिएको स्वाबमा २ जनामा कोरोनाभाइरस पोजिटिभ देखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

यसैवीच आजै महानगरीय प्रहरी वृत्त, कालीमाटीमा कार्यरत दुई जना प्रहरी अधिकारीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीका ६ वटा इकाइ सिल गरिएको छ। कालीमाटी वृत्तसँगै रहेको महानगरीय ट्राफिक प्रहरी प्रभाग र महिला सेललाई सिल गरिएको हो। कालीमाटी प्रहरी प्रमुख डीएसपी रुगम कुँवरले अनलाइनखवरलाई बताएअनुसार मातहतको बल्खु, कलंकी र स्यूचाटार प्रहरी प्रभाग पनि सिल गरिएको छ।

यसअघि बारा र कपिलवस्तुमा नेपाल प्रहरीका ३ जनामा कोरोनाको संक्रमण देखिएको थियो। आज थप २ जनामा कोरोना संक्रमण देखिएसँगै नेपाल प्रहरीका ५ जना कोरोना संक्रमित भएका छन्।
प्रकाशन मिति–२०७७ साल जेठ ७ गते बुधवार ।