काठमाडौं महानगरपालिकाका मेयरवाट घटनास्थलको निरीक्षण र सहयोग घोषणा

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर २७ ज्याठा छुस्यावहाल स्थित सुमन स्थापितको घरमा ट्रेकिङ कंपनीले स्टोर गरिएका अक्सिजनका सिलिण्डरहरु विस्फोट भएपछि करोडौंको नोक्सानी भएको छ। मंगलवार विहान ४ बजेतिर पानी तान्ने मोटर पम्प जडान गर्ने क्रममा विजुली सट भएर आगलागी भएपछि विस्फोट भएको हो।

विजुली सटवाट हावामा फैलिएको अक्सिजन ग्यास सिलिण्डरले तुरुन्तै टिप्न थालेपछि स्टोरेज गरेका ग्यास सिलिण्डर पडकिन थालेपछि ज्याठा वरपर आतंक नै मच्चिएको स्थानीयको भनाई रहेको छ। ८० वटा स्टोरेज ग्यास सिलिण्डर मध्ये २५ वटा पड्केर वितण्डना मचाएपछि स्थानीयमा भयाभवको स्थिति पैदा गरेको थियो।

महाभूकम्प आउंदाको क्षणभन्दा डरलाग्दो अवस्था विहानै सिर्जना भएको थियो। सिलिण्डर विस्फोटवाट सुमन स्थापितको घरलाई धेरै नै क्षति भएको छ। साथमा छिमेकी कल्पना तुलाधरको घरलाई पनि क्षति गरेको छ। दुई तल्लाको एकतर्फी पर्खाल पनि भत्किएको छ।

स्थानीय धेरेको घरको झ्यालको सिसा फुटेका छन्। घटनामा परेर सुमन स्थापित सहित ७ जना घाइते भएको प्रहरीले जनाएको छ।उनीहरुको ट्रमा सेन्टरमा उपचार भैरहेको छ। विस्फोट नियन्त्रण गर्न काठमाडौंका तीन वटा दमकल त्यहाँ पुगेका थिए।

घटना भएको जानकारी पाउनासाथ काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यको नेतृत्वमा काठमाडौं महानगरपालिकाको विपद व्यवस्थापन विभागका पदाधिकारी सहित स्थानीय जनप्रतिनिधिहरु घटनास्थल पुगेर यथास्थिति बुझ्ने कार्य भएको थियो।

घटनास्थलको निरीक्षण पश्चात तत्काल घाइतेहरुको उपचार भैरहेको बीर अस्पताल स्थित ट्रमा सेन्टर पुगेर काठमाडौं महानगरपालिकाले घटनाको तथ्य र विवरण संकलन गरेर सक्दो सहयोग गर्ने मेयर शाक्यले बताएका छन्।

स्थानीय सरकार प्रमुखको नाताले मेयर शाक्यको उपस्थिति र सहयोगको घोषणाले स्थानीयले राहतको महशुश गरेका छन्।
प्रकाशन मिति–२०७५ साल भदौ २६ गते मंगलवार ।