काठमाडौं। विहीवारवाट काठमाडौं उपत्यकाका तीन शहर काठमाडौं, ललितपुर र भक्तपुरमा साताव्यापी लकडाउन शुरु भएपछि बैंकका कर्मचारीहरुलाई प्रशासनले विहीवार रोकेपछि बैंक बन्द गर्ने निर्णयमा पुगेतापनि पछि सहमतिको आधारमा एक बैंकको एक शाखा खोल्ने तय भएको छ।

त्यसअनुरुप आज शुक्रवारवाट एक बैंकको एक शाखा मात्र काठमाडौं उपत्यकाका तीन जिल्लामा खुलेको छ। जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञाको पालना गर्नकै लागि बैंकर्स संघले शुक्रबारदेखि एक जिल्लामा हरेक बैंकको एउटा शाखा मात्र खोल्ने निर्णय गरेपछि खुलेको हो। शुक्रबारदेखि बैंकका कर्मचारी कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउने निर्देशन गृह मन्त्रालयले संवन्धित निकायले परिपत्र गरिसकेको कारण कर्मचारीहरुलाई कुनै कठिनाइ भने नहुने भएको छ।

नेपाल राष्ट्र बैंकले पनि न्यूनतम कर्मचारीबाट सम्भव भएसम्म कम शाखा सञ्चालन गरी आधारभूत सेवा दिन निर्देशन दिएको छ । यही निर्देशनका आधारमा पनि एउटा बैंकको एउटा मात्र शाखा खोल्ने निर्णय भएबमोजिम आधारभूत सेवा मात्र प्रदान गरिएको जनाइएको छ। आधारभूत बैंकिङ सेवामा ग्राहकले नगद जम्मा,भुक्तानी, बैंक ट्रान्सफर, चेक क्लियरिङ लगायत हुनेछन्।

विद्युतीय कारोबारलाई सुनिश्चित गरी सम्भव भएसम्म ग्राहकलाई विद्युतीय कारोबारमा प्रोत्साहन गर्न पनि नेपाल राष्ट्र बैंकले भनेको छ । ‘एटीएम मेसिनहरूमा पर्याप्त नगद राख्ने र त्यसको निगरानी गर्ने व्यवस्था मिलाउने,’ नेपाल राष्ट्र बैंकको विज्ञप्तिमा उल्लेख छ, ‘अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्न ड्राफ्ट, टीटी, प्रतीतपत्र, ग्यारेन्टी जस्ता कारोबार सञ्चालन हुने व्यवस्था मिलाउने ।’


प्रकाशन मिति–२०७७ साल भाद्र ५ गते शुक्रवार ।