काठमाडौं। लकडाउन मात्र गर्न जानेको सरकारले राहत दिन नजानेको भनेर तिब्र जन–गुनासो बढिरहेको वर्तमान अवस्थामा काठमाडौं उपत्यकामा थप कडाइका साथ एक हप्ता लकडाउन थपेको छ। काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले निषेधाज्ञा अर्थात लकडाउन अवधि एक हप्ता लम्ब्याएको हो।

मंगलबार बसेको बैठकले जेठ २० गते राति १२ बजेसम्म लकडाउन लम्ब्याउँदै यो अवधिमा खाद्यान्‍न पसल पनि बन्द गर्ने निर्णय गरेको छ। हरियो सागसब्जीको हकमा भने तोकिएको तरकारी बजारमा बिहान ९ बजेसम्म पसल खोल्न पाइने बनाइएको छ। विकास निर्माणसँग सम्बन्धित सबै सवारी साधनलाई सञ्‍चालनमा रोक लगाइएको छ।

यसअघि जारी गरिएका सवारी पास खारेज गरिएको छ। मृत्यु संस्कार, विवाह लगायतका सवारी साधनलाई भने तोकिएका मापदण्डभित्र रहेर अनुमति दिइने भनिएको छ। विवाहका लागि एउटा सवारी साधनमात्रै अनुमति दिइने र त्यसमा अधिकतम ७ जनालाई मात्र यात्र अनुमति दिइने छ।

अत्यावश्यक सामानको पसल खोल्न नपाइने र निर्माण सामाग्री ढुवानी गर्ने यातायात चल्ने नदिइने लगायतका प्रावधानले काठमाडौं उपत्यकावासीलाई कठिनाइमा थप कठिनाइ हुने देखिएको छ।

गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा जारी लकडाउनको अवधि एक महिना पुगिसकेको अवस्थामा जनजीवन अस्तव्यस्त हुन पुगेको छ। रोगले भन्दा भोकले मर्ने अवस्थामा पुगिसकेको छ।


प्रकाशन मिति–२०७८ साल जेठ ११ गते मंगलवार ।