काठमाडौं । नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकामा कोरोनाको संक्रमण संवन्धमा Rapid टेष्ट भएको छ। काठमाडौं महानगरपालिकाले बुधबार, बिहीबार र शुक्रबार ८ वटा वडाका ४०३ जनाको Rapid डाइनोस्टिक टेस्ट गरेको हो ।

२०७६ फागुन १८ गतेपछि विदेशबाट फर्किएर महानगर क्षेत्रमा बसोबास गरिरहेका व्यक्तिहरुको कोरोना संक्रमणको अवस्था पत्ता लगाउन यस प्रकारको परीक्षण गरिएको महानगरले जनाएको छ। परीक्षण गरिएका वडाहरुमध्ये सबैभन्दा धेरै ३१ नंबर वडामा ११९ जना र दोश्रोमा ३२ नंबर वडाका ११३ जना थिए ।

शहरी स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र बिलास बज्राचार्यका अनुसार ४ नंबर वडामा ५१ जना, १५ नंबर वडामा ४८ जना, ५ नंबर वडामा ३९ जना, २२ नंबर वडामा १७ जना, १० नंबर वडामा १३ जना र ९ नंबर वडामा ३ जना छन् । वडा ९, १०, ३१ र ३२ का व्यक्तिहरुका लागि मीनभवनस्थित साविक ट्रली बस स्टेशन भएको ठाउँमा र वडा ४ का वडाबासीका लागि सुकेधारास्थित बागमती कलेजमा परीक्षण गरिएको थियो ।

त्यस्तै वडा ५ को वडा भवनको प्राङ्गणमा र वडा १५ र २२ वडाबासीका लागि डल्लुस्थित सामुदायिक स्वास्थ्य सेवा परिषद्मा परीक्षण गरिएको थियो । परीक्षण गरिएका स्थानहरुमा महानगरका मेयर बिद्यासुन्दर शाकय, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रदेश सभा सदस्यहरुले निरीक्षण अनुगमन गरेका थिए।

महानगरको प्रशासन बिभागका प्रमुख नमराज ढकालका अनुसार फागुन १८ गतेपछि स्वदेश फिर्ता भएका २६३ जना व्यक्तिको नामावली संकलन भइसकेको छ । महानगरले आरडिटि शुरु गरेपछि यो संख्या बढ्न थालेको छ । सबैको परीक्षण नसकिउञ्जेल जाँच कार्यलाई निरन्तरता दिइने बिभागका प्रमुख ढकालको भनाइ छ ।
प्रकाशन मिति–२०७७ साल बैशाख ६ गते शनिवार ।