काठमाडौं। लकडाउन अवधि लम्बिएसँगै काठमाडौँ महानगरपालिकाले अतिविपन्न, असहाय र मजदुरलाई दैनिक खाना खुवाउने कार्यलाई निरन्तरता दिएको छ। महानगरपालिकाले आफ्नै स्रोत र विभिन्न सहयोगी संघ–संस्थाहरुको पहलमा अहिलेसम्म ८१ हजारभन्दा बढीलाई राहत वितरण गरेको छ। त्यसैगरी अहिलेसम्म एक लाखको हाराहारीलाई निःशुल्क खाना खुवाउने कार्य भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ।

काठमाडौँ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले लकडाउनका कारण सिर्जना भएको जटिल परिस्थितिमा स्थानीय सरकारहरुले आ–आफ्नो क्षमताले भ्याएसम्म परिचालित भई राहत वितरण तथा खाना खुवाउनेलगायतका अन्य प्रयास भैरहेको बताएका छन् ।

मेयर शाक्यले लकडाउनको अवधिमा कोही पनि भोक–भोकै पर्नु पर्ने अवस्था नआवोस् भनेर समस्यामा परेकाहरुलाई खानाको व्यवस्था गर्न केही परोपकारी संस्थासँग पनि सहकार्य गरेर खाना खुवाउने काम गरिरहेको वताएका छन्।

कतिपय स्थानमा मेयर शाक्य आफैँ पनि अनुगमनका लागि पुग्ने गरेको जानकारी नेवाः पत्रकार राष्ट्रिय दबुका बरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले भिजन संसार डटकमलाई दिएका छन्। बरिष्ठ उपाध्यक्ष श्रेष्ठका अनुसार, केही दिन अघि निरिक्षणका लागि चमती पुगेका मेयर शाक्यले जनतासँगै बसेर खाना खाएका थिए। जनतासँगै बसेर मेयर शाक्यले खाना खाँदा स्थानीयहरु पनि खुशी भएका थिए।
प्रकाशन मिति–२०७७ साल बैशाख २० गते शनिवार ।