काठमाडौं। काठमाडौं महानगरपालिकाले कोभिड–१९ को प्रभावका कारण करदाताहरुबाट असुल हुन बांकी रहेको आर्थिक बर्ष २०७६–०७७ को सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा पुरै छुट दिएको छ।

त्यसैगरी कोभिड–१९ का कारण महानगरबासीमा परेको प्रभावलाई मध्यनजर गरी आर्थिक बर्ष २०७७-०७८ को पुस मसान्तभित्र सम्पत्ति कर दाखिला गरेमा यस आर्थिक बर्षमा लाग्ने सम्पत्ति करमा दश प्रतिशत छुट दिने जनाएको छ।

‘घर जग्गा कर वा सम्पत्ति करको बक्यौताको हकमा त्यस्तो छुट दिइने छैन,’ बुधवार राष्ट्रिय सभागृहमा प्रस्तुत आर्थिक विधेयकमा भनिएको छ,। सर्वसाधारणहरुको सवारी साधन पार्किङ प्रयोजनका लागि व्यवसायिक रुपमा निर्माण गरिने भवनको हकमा भवन निर्माण सम्पन्न भएको मितिले ५ बर्षसम्म सम्पत्ति कर छुट हुनेछ ।’

महानगरपालिकाले हाल बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९को प्रभावले होटल तथा पर्यटन क्षेत्रमा पर्न गएकाअसरलाई मध्यनजर गरी होटल, रिसोर्टका नाममा घर जग्गा भई वा लिजमा लिई होटेल, रिसोर्ट निर्माण गरी सञ्चालन भएको करदाताको हकमा आर्थिक बर्ष २०७६-७७ सम्मको घरजग्गा कर-सम्पत्ति कर चुक्ता गरेमा आर्थिक बर्ष २०७७÷७८ को सम्पत्ति करमा थप पचहत्तर प्रतिशत छुट दिने जानकारी दिएको छ। २०७७ पुस मसान्तभित्र सम्पती कर बुझाएमा हुने दश प्रतिशत छुट समेत जोड्ने हो भने होटल, रिसोर्ट क्षेत्रलाई ८५ प्रतिशत सम्पति करमा छुट हुन आउँछ ।

काठमाडौँ महानगरपालिकाले हाल बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९को प्रभावले घर भाडामा बस्ने नगरबासीहरुलाई पर्नगएको असरलाई मध्यनजर गरी कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरी आर्थिक बर्ष २०७६-७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गर्न आएमा बार्षिक बहाल करमा दश प्रतिशत छुट गर्ने भएको छ। ‘तर, आर्थिक बर्ष २०७६-७७ मा घर, जग्गा तथा सम्पत्ति भाडामा लगाए बापतकोबहाल कर छुट नलिई चुक्ता गरिसकेका करदाताहका हकमा कोभिड–१९ का कारण कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरेमा आर्थिक बर्ष २०७७-७८ मा बुझाउनुपर्ने बार्षिक बहाल करमा दश प्रतिशत छुट दिई बहाल कर मिलान गरिनेछ,’ आर्थिक विधेयकमा उल्लेख गरिएको छ । .

त्यसैगरी काठमाडौँ महनगरपालिकाले बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ रोकथामका लागि नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीका कारणले काठमाडौं महानगरपालिका क्षेत्रमा ब्यापार ब्यवसाय गरी बस्ने करदाताहरुलाई व्यवसाय करमा ५० प्रतिशतसम्म छुट दिएको छ । महानगरपालिकाले आर्थिक बर्ष २०७७-७८ मा लाग्ने ब्यवसाय करमा होटल, पर्यटन तथा मनोरन्जन क्षेत्रसंग सम्बन्धित ब्यवसायीहरुले तिर्ने ब्यवसाय करमा पचास प्रतिशत र अन्य सबै ब्यवसायीहरुले तिर्ने ब्यवसाय करमा बीस प्रतिशत छुटको व्यवस्था गरेको छ ।

होटल, पर्यटन तथा मनोरञ्जन व्यवसायमा पाँचतारे होटल, चारतारे होटल, तिनतारे होटल,दुइतारे होटल, एकतारे होटल, चलचित्र प्रर्दर्शनी घर,साधारण होटल, लज, गेष्ट हाउस, होमस्टे,होस्ट, रेष्टुरेन्ट एण्ड बार ट्राभल र ट्रेकिङ एजेन्सी, रिक्रियसन खेललगायत रहेका छन् ।

त्यसैगरी होटल, पर्यटन तथा मनोरञ्जन व्यवसायमा विदेशी विमान सेवा स्वदेशी विमान सेवा हस्तकला निर्यात ब्यवसाय, क्यासिनो, वायुयान भाडामा लगाउने व्यावसाय, ट्रेकिङ सामान पसल, डिस्को थेक, नाइट क्लब, विविध मनोरञ्जन सेवा प्रदान गर्ने व्यावसाय, थान्का पसल, बैदेशिक रोजगार संपर्क व्यवसाय, डान्स ट्रेनिङ सेन्टर, संगीत सम्वन्धि सेवा प्रदान गर्ने व्यवसायलगायत पर्दछन् ।

आर्थिक बर्ष २०७७-०७८ का लागि काठमाडौँ महानगरपालिकाको बजेट १६ अर्व ४२ करोड ७३ लाख २६ हजार रुपैयाँ प्रस्ताव गरिएको छ। राष्ट्रिय सभा गृहमा आयोजना गरिएको महानगरको सातौं अधिवेसनको दोश्रो बैठकमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले उक्त रकम प्रस्ताव गरेकी थिइन्।

महानगरको सातौं अधिवेशनको पहिलो बैठक असार ४ गते सम्पन्न भएको थियो । त्यस बैठकमा महानगरका मेयर बिद्यासुन्दर शाक्यले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यस बैठकपछि चलेको दोश्रो सत्रमा गरिएको छलफलपछि पारित नीति तथा कार्यक्रमका र महालेखा परीक्षकको कार्यालयले लेखा व्यवस्थापन गर्न सञ्चालनमा ल्याएको सुत्र (सब—नेशनल ट्रेजरी रेगुलाटोरी एप्लिकेसन) का आधारित भएर बार्षिक बजेट प्रस्तुत गरिएको हो ।
प्रकाशन मिति–२०७७ साल असार १० गते बुधवार ।