काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि महानगरबाट सम्पादन भएका काम र राहत वितरणको अवस्थाको समीक्षा गर्दै काठमाडौं महानगरपालिकाको ४४ औंं कार्यपालिका बैठक सम्पन्न भएको छ।

बिहीबार राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यको अध्यक्षतामा कार्यपालिका बैठक संपन्न भएको हो। बैठकले काठमाडौं महानगरपालिकाले हिजो बुधरबारसम्ममा आन्तरिक स्रोतबाट वडामार्फत २४ हजार ३१९ जनालाई र वाह्य श्रोतबाट ६ हजार ८६५ गरी ३१ हजार १८४ जनालाई राहत वितरण गरिसकेको जनाएको छ। प्रशासन बिभागका प्रमुख नमराज ढकालका अनुसार यस अवधिमा ३७ हजार ७९० जनाले राहत लिनका लागि वडा कार्यालयहरुमा फाराम बुझाइसकेका छन् ।

बैठकमा मेयर शाक्यले वडाहरुबाट प्राप्त विवरणका बारेमा जानकारी गराउँदै क्वारेन्टाइन व्यवस्थापन, निस्संक्रमणका काम, अस्थायी तरकारी बजार व्यवस्थापन, बिदेशबाट आएर काठमाडौंमा बसोबास गरिरहेका व्यक्तिको स्वाब परीक्षणको योजना भइरहेको बताएका छन्। कोरोनाभाइरसको सम्भावित जोखिमबाट बच्न र बचाउन यसअघि गरिएका नीतिगत व्यवस्था प्रभावकारी कार्यान्वयनका लागि पनि मेयर शाक्यले आग्रह गरेका छन्।

संघ सरकार, प्रदेश सरकार, बिभिन्न मन्त्रालय र महानगरले कोरोना भाइरसको संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि गरिएको व्यवस्थालाई वडाको एउटै ढोकाबाट कार्यान्वयन गर्नुपर्छ । अहिले जटिल परिस्थिति छ । यसलाई मिलेर सामना गर्नुपर्छ भनेर मेयर शाक्यले भनेका छन्।

आफूले भोकै कोही नपरोस् भनेको र यसमा घर हुने वा नहुने, कोठामा बस्ने वा घरमा बस्ने नभनेको भनेका छन् । सर्वदलीय निर्णय, स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरीसँगको सहकार्यमा स्थानीय क्लव तथा संघ संस्थालाई तालिकाबद्ध परिचालन गरेर राहत बाँड्न पनि सवै वडा प्रशासनलाई निर्देशन दिने कार्य मेयर शाक्यवाट भएको छ।

बैठकमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले बहाल उठाएर जीवन चलाउनेहरु पनि समस्यामा पर्न थालेको र बहाल दिनेले दिन नसकेपछि उनीहरुको खाने बाटो नै छुटेको छ भन्दै आफूहरुले यतातिर पनि ध्यान पु-याउने भनेकी छन्।

यो मानवीयताका आधारमा संकट व्यवस्थापन गर्ने समय भएको नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले भन्दै अहिले महानगरको प्राथमिक काम भनेकै कोरोनाको संक्रमण रोकथाम र नियन्त्रण गर्नु हो र त्यसैले यसका लागि श्रोत र जनशक्तिको व्यवस्थापनमा ध्यान दिइनेछ भनेका छन्।

बैठकमा वडा ३ का अध्यक्ष दीपक के. सी., ४ का अध्यक्ष मोहन विष्ट, १० का अध्यक्ष रामकुमार के. सी, ११ का अध्यक्ष हीरालाल तण्डुकार, १२ का अध्यक्ष बिकास डंगोल, १३ का अध्यक्ष धु्वनारायण मानन्धर, १४ का अध्यक्ष शोभा सापकोटा, १५ का अध्यक्ष तथा महानगरका प्रवक्ता ईश्वरमान डंगोल, १७ का अध्यक्ष नविन मानन्धर, १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन, २२ का अध्यक्ष चिनीकाजी महर्जन, वडा २५ का अध्यक्ष नीलकाजी शाक्य र कार्यपालिका सदस्य हीरादेवी पोखरेलले राहत वितरण प्रगति तथा उतारचढावका बारेमा अनुभव सुनाएका थिए। Photo Source-ChandraMani/KMC


प्रकाशन मिति–२०७६ साल चैत २७ गते विहीवार ।