काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी असार पहिलो सातादेखि विद्यालय तहको नयाँ शैक्षिकसत्र शुरु गर्ने भएको छ। जेठ २० गतेसम्म वैकल्पिक विधिबाट परीक्षा सम्पन्न गरी मसान्तसम्म नतिजा प्रकाशन गर्न महानगरपालिकाले सर्कुलर गरेको हो।

विद्यालयको अनुकूलता अनुसार अनलाइन, अफलाइन, टेलिफोन लगायत यसअघि सञ्चालित परीक्षाका आधारमा नतिजा प्रकाशन गर्न सकिने शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जनाए। असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र शुरु गर्ने व्यवस्था मिलाउने महानगरपालिकाले ताकेता गरेको हो।

कतिपय निजी विद्यालयले नतिजा प्रकाशन गरेर नयाँ शैक्षिकसत्रको अनलाइन पठनपाठन समेत सुरु गरिसकेका छन्। कक्षा ८ को नगरस्तरीय परीक्षाका विषयमा भने छिट्टै निर्णय लिएर सूचना जारी गरिने सुवेदीले बताए। शिक्षा मन्त्रालयले गत वर्षको कोरोना महामारीका कारण वैशाखबाट शुरु हुने शैक्षिक सत्रलाई असारमा सारेको थियो। यसपालि पनि वैशाखदेखि शिक्षण संस्था ठप्प छन् । पठनपाठन र परीक्षा रोकिएको छ।

मन्त्रालयले अर्को निर्णय नभएसम्म असार पहिलो साताबाटै शैक्षिक सत्र शुरु हुने जनाएको छ । पठनपाठन र परीक्षा हुन नसकेकाले चालु शैक्षिक सत्रलाई अझै पछाडि धकेल्ने कि भन्ने विषयमा छलफल भइरहेको मन्त्रालयले स्रोतले जनाएको छ । जेठमा सञ्चालन हुने कक्षा १० र १२ को परीक्षा पनि स्थगित गरिएको छ।


प्रकाशन मिति–२०७८ साल जेठ ३ गते सोमवार ।