काठमाडौ। आज शनिवार नेपालमा विप्लव समर्थित नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको बन्दको खासै कुनै प्रभाव परेन। बन्द भनिएतापनि काठमाडौ तथा काठमाडौ बाहिर शनिवारको बन्दको कुनै असर नपरेतापनि बन्दको नाममा काठमाडौको बालाजु बाइपासमा साझा यातायातको बस जलाइएको छ।

Sajha Bus

बा ४ ख ५६४८ नं को बसका चालक, परिचालक र सुरक्षामा खटिएका प्रहरी खाना खान गएको मौका छोपी बालाजु बाइपासमा रोकि राखिएको बसबाट यात्रु ओराली पेट्रोल छर्केर आगो लगाइएको साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले राससलाई बताएका छन्।

आगलागीबाट बसका आठवटा सीट पूर्णरुपमा जलेर रु एक लााख बराबरको क्षति भएको छ । साझा यातायातले कसैको समर्थन वा विरोधमा सेवा सञ्चालन नगरेको उल्लेख गर्दै पाण्डेले यस्ता गतिविधि नदोहो¥याउन सबैसँग अनुरोध पनि गरेका छन्। यस संवन्धमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको भनिएको छ।

त्यसैगरी चितवनको भरतपुर उपमहानगरपालिकाको विकास चोकमा आज शनिवार नै एक भारतीय गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । दिउँसो युपी ५३ डिपी ००३० नम्बरको ग्यारेजमा राखिएको गाडी बाहिर निकाल्न लगाई पेट्रोल छर्केर आगजनी गरेको प्रहरीले जनाएको छ ।

चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले चारजनाको समूहमा आएका व्यक्तिले आगजनी गरेको पुष्टि गरेका छन्। मैदा लिएर आएको सो गाडी सामान झारी मर्मतका लागि ग्यारेजमा राखिएको थियो । नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले एक साता भारतीय गाडी चल्न नदिने अभियानअन्तर्गत आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान रहेको राससले उल्लेख गरेको छ।
प्रकाशन मिति–२०७३ साल फागुन २८ गते शनिवार ।