काठमाडौ। काठमाडौ महानगरपालिकालाई स्मार्टसिटी बनाउने योजना अनुरुप काठमाडौ महानगरपालिकाका विभिन्न स्थानमा निःशुल्क वाइफाइ सेवा उपलव्ध गराइएको छ।

काठमाडौ महानगरपालिका वडा नंबर १० नयाँ बानेश्वर, थापागाउं, रत्नपार्क लगायतवाट शुरु भएको निःशुल्क वाइफाइ सेवाको थप सात स्थानमा विस्तार भएको काठमाडौ महानगरपालिकाले जनाएको छ।

काठमाडौ महानगरपालिकाका सात सार्वजनिक स्थानमा इन्टरनेटको जडान गरिएपछि निःशुल्क वाइफाइ सेवा प्रारम्भ भएको हो। करीब तीन महिनाअघि कामपा र वर्ल्ड लिङ्क कम्युनिकेशन प्रालिबीच भएको सम्झौतानुसार केही दिनअघि सर्वसाधारणका लागि पशुपतिनाथ क्षेत्र, बालाजु उद्यान, शंखपार्क, स्वयम्भू, बौद्ध र हनुमानढोका दरबार क्षेत्रमा निःशुल्क इन्टरनेट जडान गरिएको छ।

ती स्थानमा मज्जाले निःशुल्क वाइफाइको सेवा उपभोग गरेर इन्टरनेट चलाउन सकिने भएको हो। सार्वजनिक स्थानमा स्वदेशी तथा विदेशी नागरिकको चाप बढी हुने भएकाले उनीहरुलाई सुविधा दिनका लागि कामपाले यस किसिमको व्यवस्था गरेको हो।

हनुमान ढोका र बालाजुमा नागरिक बढी आउने जाने भएकाले उक्त स्थानमा यसअघि जडान गरिएका भन्दा धरै एमबीपीएस क्षमताको इण्टरनेट राख्नुपर्ने कामपा सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले बताएका छन्। उनका अनुसार अहिले जडान गरिएका सबै स्थानमा १० एमबीपीएस क्षमताको इण्टरनेट राखिएको छ।

सबै स्थानमा गरी दैनिक २०० नागरिकले मात्र उक्त इण्टरनेट सुविधा प्रयोग गर्ने अनुमान कामपाले गरेको थियो । प्रयोकर्ताको संख्या वृद्धि भएपछि थप्नुपर्ने देखिएको हो। कामपाका मेयर विद्यासुन्दर शाक्यले पहिलो चरणमा सात स्थानमा र पछि नागरिकको आवश्यकता हेरी अन्य स्थानमा पनि राखिने बताए।
प्रकाशन मिति–२०७५ साल असार १८ गते सोमवार ।