नवलपरासी। नवलपरासीको कावासोती नगरपालिका वडा नंबर १२ स्थित पिठौलीका केशर मानन्धरको मानन्धर रेष्टुरेन्ट यहाँ आइपुग्ने सवैको नजरमा पर्ने गरेको छ। अझ विशेषत काठमाडौंवाट आइसल्याण्ड जंगल रिसोर्ट घुम्न आउने नेवार सम्प्रदायको अझ बढी चासो हुने गरेको छ। धेरैले धेरै स्थानमा नेवारले खोलेको रेष्टुरेन्ट तथा होटलको नाम श्रेष्ठ रेष्टुरेन्ट–होटल राख्ने गरेतापनि केशरले भने त्यसो गरेका छैनन्।

बाउ–बाजेको चिनो अनि पहिचान मानन्धर जातिलाई जीवित बनाउनु पर्छ भन्ने सोचले नै अरुले जाति परिवर्तन गरेतापनि केशरले मानन्धर जातलाई परिवर्तन गरेका छैनन्। बाजेको पालामा काभ्रेको बनेपावाट नवलपरासीको पिठौंली लोकाहा आइपुगेको बताउने केशर आफै बाजे बनिसकेका छन्। उमेरले ४८ बर्ष पुगेतापनि जिन्दगीको धेरै अनुभव भोगिसकेका केशर पहिचान बनाउन कम्मर कसेर लागेका छन्। पिठौलीमा मानन्धर रेष्टुरेन्ट नाम राखेर होटल संचालन गर्न थालेको पनि दुई दशक भैसकेको केशरको भनाई रहेको छ।

स्वदेशी तथा विदेशी पर्यटक आउने त्यस क्षेत्रमा हरिवोधनी एकादशीका दिन लाग्ने तीन दिने मेलामा भने धेरै नै व्यापार हुने गरेको केशरले भिजन संसार डटकमलाई बताएका छन्। लोकाहा–पिठौलाीमा नेवारहरुको मर्दा–पर्दाको गुठी संचालन गर्न २७ परिवारको गुठी पनि रहेको छ। त्यस गुठीमा केशरको अत्यन्त राम्रो सक्रियता रहेको छ।

काठमाडौं बाहिर पुगेपछि नेवार भनेपछि सवैले श्रेष्ठ थर राख्ने प्रचलनको अन्त गर्नुपर्ने र आफ्नो जातिय पहिचान राख्नु पर्ने धारणा केशरको रहेको छ। आफू मानन्धर नेवार भएतापनि नेवारी भाषा नआएकोमा अलि धेरै दुःख लागेको बताउने केशर नेवार भाषा सिक्न नपाएको र नसिकाएकोमा पछुतो पनि गर्छन्।

लोकाहाकै प्रतिष्ठित व्यवसायी नविन श्रेष्ठ पनि केशर मानन्धरको भनाईमा सहमत देखिएका छन्। नविन पनि नेवार जातिको पहिचान नेवारले नै कायम गर्नुपर्ने आवश्यकतामा जोड दिन्छन्।
प्रकाशन मिति–२०७५ साल कात्तिक ६ गते मंगलवार ।