काठमाडौं। कोभिड १९ को महामारीले प्रभावित अभिभावकहरुको सहजताका लागि काठमाडौंको स्वयम्भु परिसरमा रहेको आनन्दकुटी विद्यापीठले निःशुल्क पढाउने निर्णय गरेको छ।

सामाजिक रुपमा चुनौतिपूर्ण रहेको आजको अवस्थामा अभिभावकहरुको सहजतालाई ध्यानमा राखी विद्यार्थीहरु गुणस्तरीय शिक्षाबाट बञ्चित नहोस् भनी यो ब्यवस्था गरेको विद्यापीठले जनाएको छ। गुणस्तरीय शिक्षामा प्रतिवद्ध विद्यापीठले कक्षा १ देखि ९ सम्म १२० जना मात्र विद्यार्थी भर्ना लिनेछ। यो ब्यवस्था अनुसार भर्ना शूल्क रु १०० तिर्नुपर्नेछ भने मासिक शुल्क निःशुल्क हुनेछ। विद्यापीठले हालभने अनलाईन माध्यमबाट अध्यापन गराइरहेको छ।

पर्याप्त स्थान, खुल्ला मैदान तथा आवश्यक सम्पूर्ण पूर्वाधार रहेको विद्यापीठ हरियो वनले घेरिएको छ । स्वच्छ, सुन्दर र रमणीय वातावरण रहेकोले विद्यार्थीको भौतिक, बौद्धिक र आध्यात्मिकविकासको पहिलो छनौटमा पर्ने विद्यापीठको दावी छ। सातदशकदेखि शिक्षाको ज्योति छर्दै आएको विद्यापीठ विश्व सम्पदापवित्र स्वयम्भू परिसरमा अवस्थित छ।

अमृतानन्द महास्थवीरले विसं. २००८ सालमा बुद्ध शिक्षादिने उद्देश्यले स्थापना गरेको आनन्दकुटी विद्यापीठमा कोभिड–१९ को महामारीमा ५० शैयाको आइशोलेशन समेत सञ्चालन गरिदैं आएको छ।

प्रकाशन मिति–२०७८ साल असार १२ गते शनिवार ।