–निशान बुढाथोकी
नारी घर, परिवार, समाज अनि राष्ट्रकै महत्वपूर्ण अङ्ग हुन । नारी विनाको सुन्दर र शान्त घर, समाज अनि राष्ट्रको कल्पना पनि गर्न सकिदैन । नारी यस्तो शक्ति हो–जसले घर परिवार देखि हरेक किसिमका जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न सक्छिन् भन्ने उदाहरण हाम्रै समाजमा कतिपय महिलाले गरेका उल्लेखनिय कार्यहरुले सिद्ध समेत गरेको छ।

यसो भएतापनि नारी अर्थात महिलाले जिम्मेवारी पूरा गर्ने क्रममा अनेकौं प्रकारका अवरोधको सामना गर्नु परेको छ ! कारण एउटै हो कि–ऊ महिला हो ! अझै पनि महिला माथिको विभेद पूर्ण रुपमा निस्तेज हुन सकेको छैन हाम्रो समाजमा। सक्षम हुँदा हुँदै पनि हाम्रो सामाजिक मूल्य–मान्यताले एउटी महिला खुम्चिन बाध्य हुनु परेको छ।

पारिवारीक होस् वा राजनैतिक, आर्थिक होस् वा सामाजिक जुनसुकै ठाउँमा पनि महिला विना असम्भव हुन्छ । पितृसत्तात्मक संस्कार र पुरुषवादी सोचद्धारा ग्रसित हाम्रो समाजमा महिलाहरुको हक अधिकार अझै पनि पूर्ण रुपमा स्थापित हुन सकिरहेको छैन्। घरभित्र जति कुशलता पूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न सक्षम महिला, अवसर पाए घर बाहिर व्यवसाय, रोजगार गर्न पनि सक्छन्।

पछिल्लो समय हाम्रो समाजमा महिलाले पुरुष सरह हरेक क्षेत्रमा सफलता प्राप्त गरेका धेरै उदाहरण ताजै छन्। संचारक्षेत्र देखि शिक्षण संस्थासम्म महिलाहरुको पहँुच बढ्दै गइरहेको छ। महिला आत्मनिर्भर हुनु भनेको घर भित्रको व्दन्दको अन्त्य हुनु हो । तपाई हामी देख्न सक्छौं कि रोजगार वा स्वरोजगार महिलाको तुलनामा बेरोजगार महिलाको अवस्था कमजोर हुन्छ । यसो त, अहिले समय बदलिएको छ । राज्यले पनि महिला सशक्तिकरणका लागि विशेष निति तथा कार्यक्रम संचालन गरेको छ ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाले संचालन गरेका विकासे कार्यक्रममा पनि महिला सहभागिता र सशक्तिकरणलाई प्राथमिकता दिएका छन् । यसलेगर्दा अवला नारी उपमा पाएका हाम्रा दिदीबहिनी अहिले घर समाज हाँक्ने भएका छन्। अझै न्यायालय, संसद देखि देशै हाँक्ने उच्च सम्मानित पद राष्ट्रपतिसम्म पनि नेपालमा नेपाली नारी पुग्न सफल भएका छन्। जुन चानचुने कुरा अवश्य होइन। यो अत्यन्त गौरबताको कुरा हो। महिला सशक्तिकरणको यो अनुपम नमूना हो।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल असार १३ गते आइतवार ।