काठमाडौं। कोरोनाको कहरमा संयुक्त अरब इमिरेट्स (यूएई)बाट एक शिशुसहित १ सय ६८ जना नेपाली कामदार शुक्रबार आइपुगेका छन्।

उनीहरु एयर अरेबियाको उडान नम्बर जी ९ः१७५१ नम्बरको उडान मार्फत त्रिभुवन विमानस्थलमा साँझ ५ः३६ मा आइपुगेका हुन्। जसमा १ सय ५५ जना पुरुष र १३ जना महिला रहेका छन्।

जहाजवाट ३३ वर्षीय एक नेपालीको शव पनि आएको कान्तिपुर दैनिकको अनलाइन संस्करणले उल्लेख गरेको छ। उनीहरुलाई नेपाली सेनाले तोकिएको होल्डिङमा लैजाने तयारी गरेको छ।

यूएईबाट कम्तिमा १८ हजार जना नेपाली स्वदेश फर्कन चाहेको त्यहाँस्थित नेपाली दूतावासको भनाइ छ । शुक्रबार आउनलाई तय भएका व्यक्तिसहित अन्यको उडान अब कहिले हुन्छ भन्ने तय भइसकेको छैन ।

शुक्रबारै म्यानमारबाट पनि २६ जना नेपालीको उद्दार भएको छ । उनीहरुलाई लिएर म्यानमारको सेनाको विशेष विमान काठमाडौं आएको थियो। म्यानमारबाट आएकालाई वसुन्धारास्थित यती पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखिएको थियो । अहिले उनीहरुलाई होम क्वारेन्टिनमा राख्ने गरी पठाउने कार्य भइरहेको छ।

प्रकाशन मिति–२०७७ साल जेठ १६ गते शुक्रवार ।