काठमाडौं। कोरोनाभाइरस (कोभिड १९) जितेर शुक्रबारसम्म ३३३ जना निको भएर डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले पछिल्लो चौविस घन्टामा थप ४३ ले कोरोना जितेसँगै डिस्चार्ज हुनेको संख्या ३३३ पुगेको जनाएका हुन्।

पछिल्लो २४ घन्टामा डिस्चार्ज हुनेमा कोसी अस्पताल विराटनगरबाट २७ छन् । उनीहरु धनकुटा, खोटाङ, उदयपुर, मोरङ, सप्तरी, सुनसरी र झापाका हुन्। त्यस्तै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँके र लायन्स डेन्टल अस्पतालबाट १३ जना निको भएर घर फर्किएका छन् ।

धरानबाट ३ जना डिस्चार्ज भएका प्रवक्ता देवकोटाले जनाए । अरु यसअघि नै विभिन्न जिल्लाका अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । निको हुनेमा २७२ पुरुष र ६१ महिला छन् । नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या २ हजार ९ सय १२ पुगेको छ। पछिल्लो २४ घन्टामा २७८ जना कोरोना संक्रमित थपिएसँगै जम्मा संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको हो।

थपिएकामा ११ जना महिला भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा शुक्रवार मन्त्रालयका प्रवक्ता विकास देवकोटाले वताएका हुन। कोरोनाको संक्रमण ६८ जिल्लामा पुगेको प्रवक्ता डा.विकास देवकोटाको भनाई छ।

कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ। बुधबार राति मृत्यु भएका सुर्खेतका २८ वर्षे युवामा कोरोना ‘पोजिटिभ’ देखिएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको पुष्टि भएको प्र्रवक्ता देवकोटाले जानकारी दिएका छन्।
प्रकाशन मिति–२०७७ साल जेठ १६ गते शुक्रवार ।