काठमाडौं। विगत ६ महिनादेखि रिक्त रहेको चलचित्रकर्मीहरुको सरकारी छाता संगठन चलचित्र विकास बोर्डको अध्यक्ष पदमा चलचित्र निर्देशक दयाराम दाहाललाई नियुक्त गरिएको छ । विहीवार बसेको मन्त्रीपरिषद्को बैठकले चलचित्र निर्देशक दाहाललाई चलचित्र विकास बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

दाहालले अब २ बर्ष चलचित्र विकास बोर्डको नेतृत्व गर्नेछन्। दाहाल चलचित्र विकास बोर्डको सदस्य समेत हुन्। तत्कालिन अध्यक्ष केशव भट्टराइको निधन भएपछि बोर्ड नेतृत्वविहिन भएको थियो।

नेपाली चलिचत्र क्षेत्रमा स्पट ब्वाईवाट करियर शुरु गरेका दाहालले विभिन्न आरोह तथा अवरोह पार गरेर सफल चलचित्र निर्देशक बनेका हुन। लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय रहेका निर्देशक दाहालले बोर्डको सदस्य पदमा रहेर अनुभव हासिल गरिसकेका छन् । यसैले, यो जटिल समयमा दाहालले बोर्डमा चलचित्रकर्मीको हितका लागि काम गर्ने विश्वास गरिएको छ।

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १० जनाको आवेदन परेको थियो। जसमा, अन्तिम ३ जनाको नाम मन्त्रीपरिषद्मा सिफारिश गरिएको थियो। जसमा, नायक भुवन केसी र सांस्कृतिककर्मी राजेश थापा थिए।

दयाराम दाहालले निर्देशन गरेको पछिल्लो चलचित्र ‘रानी’ हो। दाहालले ‘दौतरी, ठूल्दाई, चाँदनी, जंगे, ढुकढुकी, तँ त साह्रै विग्रिस नि बद्री, भरिया, दाइजो, जेठ कान्छो, अग्नी ज्वाला, भाग्य विधाता, दोबाटो, कर्मयोद्धा, अरबपति, दशगजा, फर्केर हेर्दा, कहाँ छौ कहाँ, म तिमी बिना मरिहाल्छु, नेपाल’ लगायतका दर्जनौ दर्जन चलचित्र निर्देशन गरेका छन्।

चलचित्र दशगजा मार्फत देशको मिचिएको सिमानालाई कायम गर्ने निर्देशकको रुपमा पनि निर्देशक दाहाललाई लिइएको छ। नवल खड्काव्दारा निर्मित चलचित्र दशगजा निर्देशक दाहालव्दारा निर्देशित राष्ट्रवादी चलचित्र हो।


प्रकाशन मिति–२०७७ साल जेठ २३ गते शुक्रवार ।