काठमाडौं। कोरोना कहरका कारण जारी लकडाउनका बीचमा पनि काठमाडौँ महानगरपालिकाले विकास निर्माण र पूर्वाधारका कामलाई निरन्तरता दिएको छ। काठमाडौँ महानगरपालिका शहरी पूर्वाधार विभागका प्रमुख राम थापाले बन्दाबन्दीको समयमा पनि आकाशे पुल निर्माणसँगै अन्य भौतिक पूर्वाधारका काम अघि बढिरहेको बताएका छन्।

थापाका अनुसार, केही दिन अघि मात्रै वडा–८ को जयबागेश्वरीमा सार्न मिल्ने आकाशे पुलको शिलान्यास भएको छ। त्यस्तै माइतीघर नजिकै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छेउको निर्माणधिन आकाशे पुल करीब–करीब निर्माण सम्पन्न हुने क्रममा छ। जयबागेश्वरीमा केही दिन अघि मात्रै शिलान्यास गरेको पुल निर्माणको कामलाई निरन्तरता दिने कार्य भएको छ। यो पुल दशैँ भित्र सम्पन्न गरिने भएको छ। चावहिल पुल निर्माणको काममा पनि निरन्तरता अघि बढाइएको छ।

जयबागेश्वरीको सार्न मिल्ने आकाशे पुलको शिलान्यास संघीय सांसद् गगन थापाले गरेका थिए। शिलान्यास कार्यक्रममा प्रदेश सांसद नरोत्तम बैद्यलगायतको सहभागिता रहेको थियो। काठमाडौं महानगरपालिकाका काममा संघीय र प्रदेश सांसदहरुले समेत सहभागिता जनाउँदा विकास निर्माणका कामलाई दू्रततर गतिमा अघि बढाउन थप सहज भएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

आर्थिक वर्ष २०७६/०७७ मा काठमाडौं महानगरपालिका क्षेत्र भित्रका विभिन्न ६ स्थानमा सार्न मिल्ने आकाशे पुल निर्माण गर्ने योजना अनुरुप चावहिल, जयबागेश्वरी र माइतीघर नजिक यस्ता पुल निर्माणको काम अघि बढाइएको काठमाडौँ महानगरपालिका शहरी पूर्वाधार विभागका प्रमुख राम थापाले भनेका छन्। थापाले एक करोडको हाराहारीमा निर्माण हुँदै गरेको माइतीघर नजिकको पुल सकेसम्म असार मसान्त भित्र सम्पन्न गर्ने गरी काम अघि बढाएको बताएका छन्।

८२ लाख ६६ हजारमा निर्माण हुँदै गरेको चावहिलको पुल निर्माणको काम पनि अघि बढेको थापाको भनाई छ। ‘जयबागेश्वरीको पुल बन्दाबन्दीकै बेलामा समेत काम गरेर आउँदो ४ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ,’ थापाले भने, ‘आगामी दिनमा पैदल यात्रुको सुरक्षा र सहरी सवारी आवागमनलाई सहज बनाउन काठमाडौँ महानगरपालिकाले यात्रुको धेरै चाप हुने ठाउँहरुमा पैदल यात्रुका लागि क्रमशः आकाशे पुल निर्माण गर्दै जाने नीति लिएको छ ।’ जयबागेश्वरीको पुल भ्याटबाहेक ६४ लाख ९९ हजारको लागतमा निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाएको हो।

यसैवीच काठमाडौ महानगरपालिका क्षेत्र भित्रका सामूदायिक विद्यालयमा एकै प्रकारको रंगरोगन गर्नेलगायतका कामलाई पनि लकडाउनका बेला समेत निरन्तरता दिइएको थापाले बताए। महानगरपालिकाले सामुदायिक विद्यालय भित्रका खुला स्थानहरुलाई धुलोमुक्त बनाउने, फलफुलका विरुवा रोप्ने, लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय निर्माण गर्ने, शुद्ध पिउने पानीको व्यवस्था गर्ने, खुला क्षेत्रमा पानी पुनर्भरण (रिचार्ज) कार्यक्रम, फोहोरमैला राख्ने भाँडोको प्रवन्ध गर्ने, सबै विद्यालयमा बालमैत्री चित्र र महावाणी लेख्ने एवं एउटै रंग लगाउने कार्यक्रम सञ्चालन गर्ने जस्ता नीति लिएको छ।

काठमाडौँ महानगरपालिकाले जिवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि २०७७ जारी गरिसकेको छ। लकडाउनको अवस्था लम्विदै गएको खण्डमा श्रममा आधारित पारिश्रमिकको व्यवस्थाका लागि कार्यविधि नै जारी गरेको महानगरपालिकाले त्यस्ता श्रमिकहरुलाई सार्वजनिक पूर्वाधार विकास, सार्वजनिक पूर्वाधार मर्मत–सम्हार, ढल निर्माण तथा फुटपाथ व्यवस्थापन, सम्पदा संरक्षण र सौदर्यीकरण, फाहोर–मैला व्यवस्थापन जस्ता काममा लगाउने तयारी गरेको छ।


प्रकाशन मिति–२०७७ साल जेठ २२ गते विहीवार ।