काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारीका कारण काठमाडौंको ऐतिहासिक महत्वको प्रसिद्ध इन्द्रजात्रा यो वर्ष स्थगित भएको छ। इन्द्रजात्रा व्यवस्थापन समितिसहित २७ वटा स्थानीय गुठी खलःहरूले संयुक्त रूपमा स्थगित गर्ने निर्णय गरेपछि स्थागित भएको हो।

निर्णयअनुसार भक्तपुरको नालास्थित लिंगो गुठी सामुदायिक वनबाट लिंगो नकाट्ने र लिंगो नउठाउने निर्णय भएको जनाइएको छ। परम्पराअनुसार सामान्य पूजाआजामात्र गरिने भएको छ। कोरोनाभाइरस फैलिन नदिन यो वर्ष इन्द्रजात्रा स्थगित गर्ने निर्णय भएको इन्द्रजात्रा व्यवस्थापन समितिको अध्यक्ष गौतमरत्न शाक्यले बताएका छन्।

रथयात्रा, लिंगो उठाउनु पर्ने काम स्थगित भएतापनि परम्परागत पूजा विधि निरन्तर रहने जानकारी पनि अध्यक्ष शाक्यले बताए। इन्द्रजात्रा काठमाडौंको ऐतिहासिक प्रसिद्ध जात्रा हो। यो वर्ष साइतअनुसार भदौ १४ गते लिंगो उठाउने, १६ गते राष्ट्रप्रमुखबाट मूल जात्राको अवलोकन गर्ने रहेको भएतापनि यो बर्ष इन्द्रजात्रा स्थगित भएपछि सवैखाले कार्यक्रम स्थगित हुन पुगेको छ।

लिच्छविकालदेखि इन्द्रजात्रा परम्पराको विकास भएको हो । मल्लकालमा राजा प्रताप मल्लले जिवित कुमारी राख्ने परम्परा स्थापित गरेका थिए । अन्तिम मल्ल राजा जयप्रकाश मल्लले कुमारी, भैरब र गणेशको रथयात्रा गराउने तथा बसन्तपुरमा कुमारी घरको व्यवस्था गरेका थिए ।


प्रकाशन मिति–२०७७ साल भदौ १ गते सोमवार ।