काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर ४ स्थित टुँडालदेवीको जात्रा स्थगित भएको छ। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणका कारण नेपालमा लकडाउन भैरहेको अवस्थामा परम्परागत टुँडालदेवी जात्रा र टुँडालदेवीको गहना खोज्ने जात्रा दुवै स्थगित भएको हो।

चैत शुक्ल पूर्णिमाको दिन प्रत्येक बर्ष गरिदै आएको परम्परागत टुँडालदेवीको जात्रा यो बर्ष नहुने भएको जानकारी काठमाडौं महानगरपालिका वडा नंब ४ का लोकप्रिय वडा सदस्य दिनेश महर्जनले भिजन संसार डटकमलाई बताएका छन्। टुँडालदेवी मन्दिरका पूजारी रामबाबु पूजारीका अनुसार, परम्परागत जात्रा कोरोनाभाइरसका कारण रोकिएतापनि नित्यपूजा रोकिएको छैन्। टुँडालदेवीमा भाटभटेनी ल्याइनु एकदिनअगाडि गरिने नित्यपूजा सामान्य ढंगवाट गरिएको पूजारी रामबाबुको भनाई छ।

टुँडालदेवीको प्रसिद्ध मन्दिर काठमाडौंको हाँडीगाउँनजिकै काठमाडौं महानगरपालिका वडा नंबर ४ स्थित बालुवाटारमा छ। यी देवीलाई वैष्णवी देवी पनि भनिन्छ। यिनलाई किन टुँडालदेवी भनियो भन्ने कुरा स्पष्ट छैन । सम्भवतः प्रारम्भमा यस मन्दिरमा पूजाआजाका लागि देवीको मूर्ति टुँडालमा राखिएको थियो । त्यही भएर देवीको नाम टुँडालदेवी भनिएको हुनुपर्ने स्थानीयको भनाई छ।

उक्त मन्दिर लिच्छविकालतिरै स्थापना भएको मानिन्छ। टुँडालदेवीको मन्दिर विभिन्न प्रकारका कलाकौशलले भव्य र कलात्मक छ। चैत शुक्ल पूर्णिमाका दिन टुँडालदेवीको जात्रा हुने गर्दछ। जात्राका अवसरमा टुँडालदेवीको मूर्ति खटमा राखेर हाँडीगाउँ क्षेत्रमा घुमाइन्छ। उक्त जात्रालाई गहना खोज्ने जात्रा पनि भनिन्छ।

किंवदन्ती अनुसार, टुँडालदेवी, नक्साल भगवती र भाटभटेनी नातेदार थिए। एकदिन यी तीनै देवी–देवता घुम्नलाई बाहिर निस्कँदा टुँडालदेवीका गरगहना एउटा पोखरीमा खसेर हराएछन्। पछि चैत शुक्ल पूर्णिमाका दिन उनका गहना एउटा पोखरीमा भेटिए। त्यही खुशीयालीमा टुँडालदेवीको रथयात्रा गर्ने गरेको तथा गहनापोखरीमा गहना खोज्ने जात्रा पनि मनाउने गरिएको परपरागत भनाई रहेको छ।

रथयात्राका अवसरमा गहनापोखरीमा पुगेर त्यही पोखरीमा गहना खोज्ने चलन आजसम्म पनि छ । उक्त पोखरीमा गहना खोज्ने उत्सव गरिने हुँदा उक्त पोखरीलाई नै गहनापोखरी भन्ने गरिएको हो । विसं.१८३० सालमा पृथ्वीनारायण शाहले १२९ रोपनी जग्गा यसका लागि गुठी राखिदिएको लिखत पाइन्छ। गुठी संस्थानले नै टुँडालदेवीको जात्रा चलाउने गरेको छ।

विसं.२०७२ साल बैशाख १२ गतेको महाभूकम्पका कारण ध्वंस्त बनेको यो टुँडालदेवी मन्दिरको पूर्नरनिर्माण गरेर जस्ताको तस्तै बनाइएको छ। टुँडालदेवी मन्दिरलाई अझ व्यवस्थित बनाउन टुँडालदेवीमा बैष्णवी कोष नै निर्माण गरिएको छ। जसको अध्यक्ष लोकप्रिय वडा सदस्य दिनेश महर्जन नै रहेका छन्। महर्जनको अध्यक्षतामा कोष स्थापना र संचालन भएको छ।


प्रकाशन मिति–२०७६ साल चैत २५ गते मंगलवार ।