काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) का विषयमा फैलिरहेको अनावश्यक भ्रममा नपर्न नेपाल सरकारले आग्रह गरेको छ। शनिबार विज्ञप्ति निकालेर गृह मन्त्रालयले भाइरसको संक्रमण नेपालमा अहिलेसम्म पुष्टि नभएकोले अनावश्यक हल्ला र प्रचारबाजीको पछाडि नलाग्न आग्रह गरेको हो।

नेपाल सरकारले संक्रमणबाट जोगिन उच्च सतर्कता अपनाएकोले अनावश्यक चिन्ता लिएर नबस्न पनि मन्त्रालयका प्रवक्ता एवं सहसचिव केदारनाथ शर्माले विज्ञप्तिमार्फत् आग्रह गरेका छन्। यस्तै, मन्त्रालयले हल्लाको पछि लागेर उपभोग्य वस्तुको खरिद र भन्डारणमा कुनैपनि प्रकारको हतार नगर्न पनि आग्रह गरेको छ।

कसैले कालोबजारी, मूल्यवृद्धि र कृत्रिम अभाव गरेको पाइए तत्काल सम्बन्धित निकायमा खबर गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।मन्त्रालयले सामाजिक सञ्जाल र सञ्चारमाध्यमले डर पैदा गर्नेखालका काम गरिरहेको पाइएकोले तथ्यपरक सूचनामात्रै प्रवाह गर्न पनि आग्रह गरेको छ। यसैबीच, होली पर्व नजिकिएसँगै भीडभाड र भेलामा जम्मा हुने, लोला फ्याँक्ने, शरीरमा रङ र अबिर दल्नेलगायतका काम नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ।


प्रकाशन मिति–२०७६ साल फागुन २४ गते शनिवार ।