काठमाडौं। कोरोनाभाइरसको संक्रमणको कारण नेपालमा पहिलोपटक एकको मृत्यु भएको दुःखद खवर रहेको छ। काभ्रेको धुलिखेल अस्पतालमा उपचारत् २९ वर्षीया सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेपछि कोरोनाको कारण मृत्यु हुने पहिलो व्यक्तिको पुष्टि भएको हो।

कोरोना संक्रमणको शंकामा उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा ‘रिपोर्ट पोजिटिभ’ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत वैशाख २३ गते महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी महिला बैशाख २४ गते सुत्केरी भएकी थिइन्।

बैशाख २५ गते अस्पतालबाट ‘डिस्चार्ज’ भएर सिधुपाल्चोक घर गएकी उनमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो। स्वास्थ्यमा जटिल समस्या भएपश्चात् धुलिखेल अस्पताल भर्ना भएकी उनको हिजो छाडेर अस्ति बिहीबार मृत्यु भएको अस्पतालले जनाएको छ।

उनको स्वाब धुलिखेल अस्पतालमा ‘पीसीआर’ परीक्षण गर्दा पनि कोरोना पोजिटिभ देखिएको थियो। सुत्केरी महिलाको मृत्यु भएपछि धुलिखेल अस्पतालले आकस्मिककक्ष ‘सिल’ गरेको छ। मृतक महिलाको सम्पर्कमा आएका ६ जना व्यक्तिहरुलाई ‘आइसोलेसन’कक्षमा राखिएको छ। पछिल्लो रिपोर्ट अनुसार, नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ।
प्रकाशन मिति–२०७७ साल जेठ ३ गते शनिवार ।