–सुनकुमार अवाल
काठमाडौं। कोरोना कहरका कारण जारी लकडाउनले गर्दा सवैको जनजीवनमा व्यापक असर परेको छ। चैत ११ गतेवाट नेपालमा कोरोना संक्रमणको त्रास देखिएपछि लकडाउन भएको हो।

यो लकडाउन चार महिना लामो भयो। त्यसअवधिमा धेरैजनाको व्यापार व्यवसाय सवै ठप्प हुंदा सवैको हाल बेहाल नै बन्यो। करिब एक महिनाजति लकडाउन खुल्ला भएपछि फेरि गत हप्तादेखि नेपालका ४२ जिल्लाहरुमा लकडाउन भएपछि फेरि उही बेहालको अवस्था दोहोरिएको छ।

पहिलाको लकडाउन भन्दा स्थानीय जिल्ला प्रशासनहरुले जारी गरेको लकडाउन अझ कडा भएको छ। जताततै सन्त्राषको वातावरण सिर्जना भएको छ। कोटेश्वर लगायत सर्वत्र सुनसान देखिएको छ। यो लकडाउनमा निम्न वर्ग मात्र होइन, हामीजस्ता मध्यम वर्गलाई पनि व्यापक असर पारेको छ।

लकडाउन गर्न जानेको सरकारले जनताको समस्या तथा मर्का बुझेर राहतको व्यवस्था गर्न र गराउन खासै चासो दिएको पाइएको छैन्। अर्कोतर्फ, कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि राजधानी काठमाडौं जस्तो स्थानमा एउटा आइसोलेसन तथा क्वारेन्टाइनको समेत व्यवस्था गर्न नसक्नु विडम्बना नै हो।

विश्वभरका स्वदेशी तथा विदेशी र ७७ जिल्लाकै मानिसहरुको उपस्थिति हुने गरेको राजधानी काठमाडौंमा आइसोलेसन तथा क्वारेन्टाइन नहुंदा यहाँका जनता आतिनु स्वभाविक हो। अर्कोतर्फ, कोरोना कहरको कारण जारी लकडाउनले नेपाली जनता रोगले भन्दा बढी भोकले मर्ने अवस्था आइसकेको छ।

धेरैलाई कोरोनाले भन्दा बढी डिप्रेसनले मार्न लागेको छ। यही डिप्रेसनको शिकारका कारण धेरैको घरपरिवारमा समस्या उत्पन्न भैरहेको छ। यसको उपचार गर्न र गराउन गाउँ–टोलमा योगा लगायतका शिविर राख्न आवश्यक छ। सवैलाई कोरोना दिमागवाट किल गरेर सकारात्मक सोचको विकास गर्न र गराउन जरुरी भैसकेको छ।


प्रकाशन मिति–२०७७ साल भाद्र ९ गते मंगलवार ।