काठमाडौं। कोरोना संक्रमणबाट विश्वभर रहेका ९६ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विश्वभरवाट ९६ जना नेपालीको मृत्यु भएको जनाएको छ। हिजो शनिवार १६ मे २०२० सम्ममा सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएको एनआरएनएको स्वास्थ्य समितिले जनाएको हो।

बेलायतपछि बढी मृत्यु अमेरिकामा भएको छ। अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेमा १५ जना नेपाली रहेको एनआरएनएले जनाएको छ। एनआरएनए स्वास्थ्य समितिका संयोजक डा.संजिव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स (युएई) मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १ र नेपालमा १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो। मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला छन्।

यो सातामात्र नेपालसहित अन्य मुलुकमा गरेर थप १८ जना नेपालीको मृत्यु भएको हो। यस साता ज्यान गुमाउनेहमा युकेमा १२, युएईमा ३, साउदी अरबमा २ र नेपालमा १ रहेको एनआरएनएले जनाएको छ। संक्रमित हुनेमा नेपालबाहेक विश्वभर ६ हजार ७ सय ८१ गैरआवासीय नेपाली रहेका छन्। संक्रमितमध्ये ३५ प्रतिशतभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको पनि जनाइएको छ। ११ देशमा गैरआवासीय नेपालीले ज्यान गुमाएका छन् भने १९ देशमा रहेका नेपाली कोभिड–१९ बाट संक्रमित बनेको एनआरएनएले जनाएको छ।


प्रकाशन मिति–२०७७ साल जेठ ४ गते आइतवार ।