काठमाडौं। अमेरिका र इरानबीच द्वन्द्व चर्किएसँगै सरकारले खाडी मुलुकमा रहेका नेपाली कामदारहरुको अवस्था बुझ्न पहल लिएको छ। उनीहरुको सुरक्षामा कुनै कमी हुन नदिने विश्वाससहित नेपालको परराष्ट्र मन्त्रालयले पहल शुरु गरेको हो।

परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको संयुक्त बैठकमा खाडी मुलुकमा रहेका नेपालीहरु द्वन्द्वको मारमा नपरुन् भनेर शुक्रवार गम्भीर छलफल भएको समाचार स्रोतले भनेको छ। समाचार स्रोतका अनुसार, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारी अधिकारीहरुलाई खाडी मुलुकमा रहेका नेपाली कामदारहरुको अवस्था र सम्भावित जोखिमको लेखाजोखा गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएका छन्।

ज्ञवालीको निर्देशनबमोजिम परराष्ट्र मन्त्रालयले सम्बन्धित देशमा रहेका नेपाली दूतावासहरुलाई पत्राचार गरिसकेको छ। द्वन्द्वरत् इरानका साथै खाडीमा रहेका नेपालीलाई पनि स्थानीय नेपाली दूतावासमा सम्पर्कमा रहने प्रबन्ध मिलाइएको छ।

इरानसहित खाडी देशहरुमा काम गर्ने नेपालीको संख्या २० लाखभन्दा बढी रहेको अनुमान गर्दै सरकारले उनीहरुको सुरक्षामा कमी हुन नदिने प्रतिबद्धता परराष्ट्र मन्त्रालयले जनाएको छ। अहिलेसम्म द्वन्द्वको मारमा कोही नेपाली परेका छैनन्। तर, अमेरिका र इरानबीचको द्वन्द्व थप चर्कियो भने त्यहाँबाट नेपालीलाई फर्काउनुपर्ने हुनसक्छ।

अहिलेसम्मको अवस्थामा नेपाली नागरिकहरुलाई कुनै त्यस्तो अप्ठ्यारो अवस्था नपरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलको भनाई छ।
प्रकाशन मिति–२०७६ साल पुस २४ गते विहीवार ।