काठमाडौं। अमेरिकाले संयुक्त राष्ट्रसंघलाई पत्र लेखेर आफू इरानसँग बिनासर्त गम्भीर वार्ता गर्न तयार रहेको बताएको छ।

अमेरिकाले इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको इराकको राजधानी बग्दाद नजिकै ड्रोन आक्रमण गरेर हत्या गरेपछि दुई देश बीचको तनाव उत्कर्षमा पुग्ने आंकलन गरिएकोमा अमेरिकाले इरानसंग बिनासर्त वार्ता गर्न तयार भएको हो।

बुधबार बिहान मात्रै इरानले सुनेमानीको दाहासंस्कार गरिसकेपछि इराकमा रहेका अमेरिकी सैन्य क्याम्पहरुमा मिसाइल आक्रमण गरेको थियो।

त्यसपछि अमेरिकाले जवाफ फर्काउन सक्ने र युद्ध झनै लम्बीनसक्ने बारे विश्वभर चिन्ता व्यक्त भइरहेका बेला अमेरिकाले संयुक्त राष्ट्रसंघलाई पत्र लेखेर यस्तो प्रस्ताव अघि सारेको हो।

इरानले पनि संयुक्त राष्ट्रसंघलाई पत्र लेखेर आफू युद्धको पक्षमा नरहेको भनेर पत्रमा उल्लेख गरेको छ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल पुस २४ गते विहीवार ।