काठमाडौं। नेपाल सरकारले विभिन्न तीनवटा टेलिकम कम्पनीका अनुमतिपत्र खारेज गर्ने निर्णय बदर गरेको छ। सरकारले व्यवसायी अजेयराज सुमार्गी स्वामित्वको नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल) सहित वेबसर्फर नेपाल कम्युनिकेसन सिस्टम र स्मार्ट टेलिकमको लाइसेन्स खारेजीको निर्णय बदर गरेको हो।

बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सो जानकारी दिएका हुन्।

प्राधिकरणले गएको साउन १३ गते वेबसर्फर र स्मार्टको लाइसेन्स खारेज गर्नेसहितको निर्णय गरेको थियो। त्यस्तै, साउन १७ गते हेलो नेपालको लाइसेन्स खारेजीसहितको निर्णय गरिएको थियो। उक्त निर्णय पुनरावलोकनका लागि ती कम्पनीले मन्त्रिपरिषदमा निवेदन दिएका थिए।

मन्त्रिपरिषद्को यही पुस २१ गते बसेको बैठकले प्राधिकरणको सो निर्णय बदर गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकले लाइसेन्स खारेजी बदरसँगै उनीहरुले हालसम्म तिर्नुपर्ने साँवा–ब्याजसहितको सबै किसिमको बक्यौता रकम पाँच किस्तामा नबढ्ने गरी पहिलो किस्ता चालू आर्थिक वर्ष २०७६-७७ को असार मसान्तभित्रै र बाँकी चार किस्ता प्रतिवर्ष एक किस्ताका दरले प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्रै बुझाउने गरी समय दिने निर्णयसमेत गरेको छ।

सोअनुसार निर्धारित् समयावधिभित्रै प्रत्येक किस्ता रकम र कानुनबमोजिम बुझाउनुपर्ने रकम नबुझाएमा अनुमतिपत्र खारेजलगायतका कारबाही हुने निर्णय गरिएको छ।
प्रकाशन मिति–२०७६ साल पुस २४ गते विहीवार ।