काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस(कोभिड–१९) को इपिसेन्टर मानिएको चीनको वुहानमा आज बुधबारदेखि लकडाउन हटाइएको छ। गत डिसेम्बरको अन्तिममा हुबेई प्रान्तको राजधानी वुहानबाट कोरोनाभाइरसको संक्रमण शुरु भएको थियो।

कोरोनाभाइरसको संक्रमण अन्यत्र फैलिन नदिनका लागि भन्दै चीनले गत जनवरी २३ मा वुहानलाई लकडाउन गरिएको थियो। बुधबारदेखि वुहानका नागरिक चीनको अन्य ठाउँ जान पाउने भएका छन्। वुहानका रेल्वे अधिकारीहरुका अनुसार बुधबार मात्रै ५५ हजारभन्दा बढी यात्रु रेलमार्फत वुहानबाट यात्रा गर्दैछन्।

७६ दिनपछि वुहानको सीमा खुलाइएपनि केही प्रतिबन्ध भने कायमै हुने चिनियाँ अधिकारीले जनाएका छन्। कोरोना संक्रमण नियन्त्रणउन्मुख हुँदै गएपछि चीनको जनजीवन सामान्यतर्फ गएको छ। इपिसेन्टर नै मानिएको वुहानमा लकडाउन हटाइएपछि चीनको जनजीवन पूर्ववत् अवस्थामा फर्किएको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन्।

याङ्त्सी नदीको किनारमा रहेको औद्योगिक हब मानिने वुहानमा मात्रै कोरोनाभाइरसको संक्रमणबाट २ हजार ५ सयको मृत्यु भएको थियो। त्यस्तै वुहानमा मात्रै ५० हजारभन्दा बढी कोरोनाभाइरसबाट संक्रमित भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

चीनमा पुष्टि भएकोमध्ये ७७ प्रतिशत संक्रमण वुहानमा मात्रै भएको थियो। कोरोना संक्रमण न्यूनीकरणका लागि भन्दै चीनले करिब २ महिनासम्म वुहानका व्यावसायिक प्रतिष्ठान, यातायातका साधन बन्द गर्नुका साथै स्थानीयलाई तरकारी किन्नका लागि पसलसम्म जान पनि दिइएको थिएन।


प्रकाशन मिति–२०७६ साल चैत २६ गते बुधवार।