काठमाडौं। कोरोना संक्रमणका कारण काठमाडौं उपत्यकामा जारी लकडाउनले विपन्न वर्ग देखि मध्यम वर्गसम्मलाई संकट पर्न थालेको छ। साताव्यापी मात्र भनेको लकडाउनमा थप लकडाउन माथि लकडाउन भएपछि संकट पर्न थालेको हो।

यस संकटमा सहयोगी हातका रुपमा गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी तथा बोधिसत्व विहार देखिएको छ। गन्तव्य नेपालको संयोजन तथा वोधिसत्व विहारको आयोजनामा उपत्यका विभिन्न स्थानमा समस्यामा परेका परिवारलाई खाद्यान्न लगायतका राहत सहयोग वितरण गरेको छ।

बोधिसत्व विहारका सुप्रिम मास्टर हेगुवाङ शी, सोही विहारअन्तर्गतको नेपाल लकडाउन फुड च्यारिटीका संयोजक शान्त शर्मा र गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारी अविरल सहितको टोलीले आइतवारकाठमाडौंको बालाजुस्थित अपाङ्ग आश्रमसँगै लामबगर शिव मन्दिर, शान्तिटोल, मनमैजु लोकतान्त्रिक चोक र ललितपुरको हरिसिद्धिमा समस्यामा परेका दर्जनौं परिवारलाई कुल ६२५ किलो चामल, ७५ किलो दाल, ७५ किलो गेडागुडी, ६९ किलो पिठो,५० लिटर तेल, ५ किलो मसला र १० किलो चिनी सहयोग गरेका छन्। योसँगै टोलीले निषेधाज्ञा अवधिभर आवश्यक पर्दा थप सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।

पहलकर्ता गन्तव्य नेपालका अध्यक्ष तथा समाजसेवी अधिकारीले आफ्नो पहलमा यसै साता पुरानो गुह्येश्वरीस्थित इप्सा नेपाल र गोकर्णस्थित संयुक्त अपाङ्ग आवास केन्द्रलाई नगद, खाद्यान्न र ट्वाइलेट बाथरुम निर्माण गरिदिनेसम्मको सहयोग गरेको स्मरण गर्दै अपाङ्ग तथा विपन्न वर्गको सेवामा निरन्तर सहयोग जारी राख्ने बताएका छन्।

बोधिसत्व विहार मानवसेवामा समर्पित बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय संस्था हो। यस विहारले कोरोना महामारीसँगै नेपालमा लकडाउन सुरु भएयता हालसम्म ७ लाखभन्दा बढीलाई निःशुल्क भोजन गराइसकेको छ। त्यससँगै विहारले विपन्न वर्गका सुत्केरी, बालबालिका र वृद्धवृद्धालाई विशेष पौष्टिक आहार उपलब्ध गराउँदै आएको छ। खाद्य सामग्रीका अतिरिक्त विहारले देशभर भारी मात्रामा स्वास्थ्य सुरक्षा र सरसफाइका सामग्री वितरण गरेको जनाएको छ।
प्रकाशन मिति–२०७७ साल भाद्र १४ गते आइतवार ।