काठमाडौ। लामो समयदेखि बीर अस्पतालमा छोराको हत्यारालाई हदैसम्मको कारवाहीको माग राख्दै अनसन बस्दैआएकी गंगामाया अधिकारीले अनसन नतोड्ने भएकी छन्। हत्याका अभियुक्त भनिएका छविलाल पौडे्ल कारवाहीको दायरामा आइसकेको अवस्थामा गंगामाया आश्वस्त हुन नसकेकै कारण अनसन नतोड्ने अडानमा रहेकी हुन्।

गंगामायाले सरकारले आफूसँग विगतमा गरेका सहमति कार्यान्वयनको ‘ग्यारेन्टी’ नगरेसम्म कुनैपनि हालतमा अनशन नतोड्ने भनेकी छन्। सोमबार अनशन तोडाउन गएका कानून मन्त्रालयका सचिव र गृह मन्त्रालयका सहसचिवलाई गंगामायाले छविलाल पौडेलमाथि कारबाही नभएसम्म अनशन नतोड्ने जवाफ दिएकी हुन्।

छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग राख्दै विगत ६ वर्षदेखि पटक–पटक अनशनमा बसेकी गंगामायाले हत्याका अभियुक्त छविलाल पौडेलले आत्मसमर्पण गरेपनि उनीमाथि कारबाही हुनेमा आश्वस्त हुन सकिनन्।गंगामायाले कारबाहीको सुनिश्चितता नभएसम्म अनशन जारी राख्ने अडान लिइरहेकी छन्।अनशन तोडाउन गएका कानून मन्त्रालयका सचिव राजीव गौतमले अभियुक्त कानुनको दायरामा आएपछि कानूनले नै कारबाही गर्छ भन्दै अनशन तोड्न आग्रह गरेका थिए।

गंगामायाका वकिल बाबुराम गिरीले परिवार सबै गुमाएकी गंगामायाको सम्पूर्ण रेखदेख पनि सरकारले गर्नुपर्ने बताए। लामो समय अनशनमै बसेकी गंगामायाको स्वास्थ्यमा विभिन्न समस्या देखापरेकाले स्वास्थ्य उपचारदेखि सम्पूर्ण जिम्मा सरकारले लिने प्रतिबद्धतासहित अनशन तोडाउन आउनुपर्ने उनको भनाइ थियो। विसं.२०६१ साल जेठ २४ गते तत्कालीन विद्रोही माओवादी कार्यकर्ताले अपहरणपछि कृष्णप्रसादको हत्या गरेका थिए।

छोराका हत्यारालाई कारबाहीको माग राख्दै अधिकारी दम्पतीले अनशन सुरु गरेका थिए। गंगामायाका श्रीमान् नन्दप्रसाद अधिकारीको अनशनकैक्रममा मृत्यु भएको थियो भने नन्दप्रसादको शव अहिलेपनि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमै रहेको छ।


प्रकाशन मिति–२०७५ साल असार २५ गते सोमवार ।