धनुषा। नेपाल स्वयंसेवी रक्तदाता समाजको आह्वानमा बृहत रक्तदान तथा सम्मान कार्यक्रम भएको छ। स्थानीय माँ दुधमती युवा क्लब र चिकित्सा प्रयोगशाला बिज्ञान संघ नेपालको संयुक्त आयोजनामा दुधमती चोक,महेन्द्रनगर,धनुषामा बृहत रक्तदान तथा सम्मान कार्यक्रम भएको हो।

क्षिनेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बिशेष अतिथि चिकित्सा बिज्ञान प्रयोगशाला संघ नेपालका केन्द्रीय अध्यक्ष बिनोदकुमार यादव, क्षिनेश्वरनाथ नगरपालिकाका वडा न ५ का वडाध्यक्ष जीवछ मण्डल र अतिथिमा ईलाका प्रहरी कार्यालयका प्रमुख निरिक्षक अरूण कुसबाहको आतिथ्यता रहेको थियो।

बृहत् रक्तदान तथा सम्मान कार्यक्रममा स्वयंसेवी शतक रक्तादाताका साथै नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यलाई गम्छा,फूलमाल पहराई मानार्थ विद्यावारिधी उल्लेख गरिएको सम्मान पत्र प्रदान गरि सार्वजनिक अभिनन्दन गरिएको थियो।

दुधमतीमा दोश्रो पटक आयोजित उक्त रक्तदान कार्यक्रममा महिला पुरूष गरि जम्मा ७० जनाले स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए। कार्यक्रमको संचालन नेस्वरस धनुषा जिल्ला समितिका सचिव सितेश झाले गरेका थिए।  नेस्वरसका केन्द्रीय सदस्य तथा धनुषा जिल्ला अध्यक्ष शिवकुमार शाहको सभापतित्वमा कार्यक्रम भएको थियो।

प्रकाशन मिति–२०७५ साल असार २४ गते आइतवार ।