काठमाडौ। चन्द्रागिरि नगरपालिकाको सहकार्य तथा सहयोग र चन्द्रागिरि मिडिया हाउसको आयोजनामा संचालित १० दिने नेतृत्व विकास तथा उदघोषण कला तालिम संपन्न भएको छ। तालिम कार्यक्रम चन्द्रागिरि नगरपालिका वडा नंबर १२ मा संपन्न भएको हो।

समापन समारोह तथा प्रमाण–पत्र वितरण कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले १० दिने नेतृत्व विकास तथा उदघोषण कला तालिम अत्यन्त फलदायक भएको र तालिम लिएका प्रशिक्षार्थीहरु एक से एक पाएको बताएका छन्। अव उहाँहरुले समाजमा फलदायिक भूमिका निर्वाह गर्ने कुरामा आफू विश्वस्त रहेको मेयर गिरीले सहभागी ३० जना प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र वितरण गर्दै बताए।

आयोजक चन्द्रागिरि मिडिया हाउसका कार्यकारी निर्देशक अमृतमान महर्जनको सभापतित्वमा संपन्न भएको कार्यक्रममा स्युचाटार गाविसका पूर्व गाविस अध्यक्ष धर्मराज गौतमले पनि प्रशिक्षार्थीहरुले १० दिने तालिमवाट अभूतपूर्व क्षमता प्रदर्शन गरेको देखेर आफू अत्यन्त प्रभावित बनेको बताएका छन्।

सहभागी प्रशिक्षार्थीहरुको तर्फवाट राजमाया महर्जन, सरिला श्रेष्ठ, रामकुमारी,सरस्वती र निकिता पौडेलले १० दिने तालिममा आफूहरुले सिकेका उपलव्धीका बारेमा प्रस्तुतिका साथ अनुभव सुनाएका थिए।

कार्यक्रममा प्रशिक्षार्थीकै अनुभव सुनाउने क्रममा चन्द्रागिरि नगरपालिका वडा नंबर १२ का वडा सदस्य प्रदीप अधिकारीले आफू पनि प्रशिक्षार्थीको रुपमा प्रशिक्षण लिदा आफूले कतिपय थाहा नभएका सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिल भएको र अव आफूलाई विभिन्न कार्यक्रममा उदघोषण गर्न सहज र सरल हुने जानकारी दिएका छन्।

प्रमुख तालिम प्रशिक्षक श्याम स्मृतले १० दिने तालिम कार्यक्रमको उपलब्धी भन्नु नै प्रशिक्षार्थीहरुले कुशलतापूर्वक आंट, आत्मविश्वास र अनुशासनका साथमा विधिपूर्वक कार्यक्रम संचालन गर्न सक्नु र आफ्नो अभिव्यक्ति प्रस्तुतिकरण गर्न सक्नु हो भन्दै त्यो सवैमा आफूले पाएको सगौरब सुनाए।

कार्यक्रमको संचालन तालिम कार्यक्रमकै प्रशिक्षार्थी सीता बानियाँले अत्यन्त सफलतापूर्वक उदघोषण गरेर कार्यक्रम संचालन गरेकी थिइन्। स्वागत भाषण आयोजक चन्द्रागिरि मिडिया हाउसको तर्फवाट कार्यक्रम संयोजक लसता महर्जनले गरेकी थिइन्।

आयोजक चन्द्रागिरि मिडिया हाउसका अध्यक्ष नारायणकृष्ण महर्जन कार्य व्यस्तताले आउन नसकेतापनि सफलतापूर्वक तालिम कार्यक्रम संपन्न भएकोमा सवैलाई बधाई सन्देश प्रेषित गरेको सभापति अमृतमान महर्जनले बताए।

सभापति महर्जनले निकट भविष्यमा पनि यस्तै उपलव्धीमूलक कार्यक्रम चन्द्रागिरि मिडिया हाउसले गर्दैजाने उदघोष पनि गरेका छन्।
प्रकाशन मिति–२०७४ साल चैत्र ६ गते मंगलवार ।