Mr.Krishna Gopal Shrestha

काठमाडौ। प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा काठमाडौ क्षेत्र नंबर ९ का हेभिवेट नेताहरु नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ तथा नेपाली कांग्रेसका ध्यानगोविन्द रञ्जित वीच भएको व्यापक प्रतिस्पर्धामा कृष्णगोपाल श्रेष्ठको शानदार जित भएको छ।

लगातार चार पटकसम्म चुनावमा हार व्यहोरेका कृष्णगोपाल श्रेष्ठ प्रतिनिधिसभा चुनावमा काठमाडौं ९ मा विजयी भएका छन् । श्रेष्ठले नेपाली कांग्रेसका ध्यानगोविन्द रञ्जितलाई ८ हजार ५० मत अन्तरले हराएका छन्। कृष्णगोपाल श्रेष्ठले २२ हजार ८५२ मत पाउँदै विजयी हुँदा ध्यानगोविन्दले १४ हजार ८०२ मत पाएका छन् ।

कृष्णगोपाल र ध्यानगोविन्द चिरपरिचित प्रतिस्पर्धी हुन् । उनीहरुबीच काठमाडौं क्षेत्र नम्बर ७ मा विसं.२०५१ को चुनावमा भिडन्त भएको थियो जसमा कृष्णगोपालले बाजी मारेका थिए । तर विसं.२०५६ को चुनावमा कृष्णगोपाल ७ नम्बर क्षेत्रबाटै तिर्थराम डंगोलसँग पराजित भए।

Mr.Ajaya Kranti Shakya with Mr. Krishna Gopal Shrestha

त्यसपछिका लगातार तीनवटा चुनावको परिणाम पनि कृष्णगोपालको पक्षमा आएन । विसं.२०६४ को पहिलो संविधानसभा र २०७० को दोस्रो संविधानसभा चुनावमा कांग्रेसका ध्यानगोविन्दले कृष्णगोपालसँग बदला लिए। त्यतिमात्रै होइन काठमाडौं क्षेत्र नम्बर २ मा भएको उपचुनावमा पनि कृष्णगोपाल हारेका थिए।

दुई स्थानबाट विजयी एमाले नेता माधव नेपालले काठमाडौं २ छाडेपछि भएको उपचुनावमा कृष्णगोपाल उम्मेदवार थिए। उपचुनावमा उनी कांग्रेसका दिपक कुइँकेलसँग पराजित भएका थिए। तर संविधान जारी भएपछि नेपालमा पहिलोपटक भएको प्रतिनिधिसभा निर्वाचनमा भने कृष्णगोपाल श्रेष्ठको शानदार जित भएको छ। यो जितले काठमाडौ क्षेत्र नंबर ९ का स्थानीय जनताले धेरै समयदेखि पर्खदै गरेको सुखद खवर बनेको छ।
प्रकाशन मिति–२०७४ साल मंसीर २३ गते शनिवार ।