धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२ महादेवबेसीमा चारवटा सवारी साधन एक आपसमा ठोक्किदाँ ट्रक र मोटरसाइकलमा आगलागी भएको छ। बुधवार मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख २७८१ नम्बरको सिमेन्ट बोकेको ट्रकमा बा७५प ६०५१ नम्बरको मोटरसाइकल ठोक्किएको हो।

मोटरसाइकलाई जोगाउने क्रममा गजुरीतर्फ आउँदै गरेको बा२ग २४६३ नम्बरको नेपाली सेनाको ट्रकमा २७८१ नम्बरको ट्रक ठक्कर खाएको थियो। त्यसको लगत्तै धादिङबेसीबाट काठमाडौँ जाँदै गरेको बा३६प ४२३९ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किन पुग्दा आगलागी भएको हो।

आगलागीबाट सिमेन्ट बोकेको ट्रक र बा३६प ४२३९ नम्बरको मोटरसाइकल जलेको प्रहरीले भनेको छ। दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना घाईते भएका छन्। दुवैको नाम भने खुल्न सकेको छैन्।
प्रकाशन मिति–२०७५ साल बैशाख १९ गते बुधवार ।