काठमाडौ। आज अंग्रेजी महिनाको मे महिनाको पहिलो दिन अर्थात मे दिवस । अन्तरराष्ट्रिय मजदुर दिवस। आज १२९ औं अन्तरराष्ट्रिय मजदुर दिवसका रुपमा संसारभरका मजदुर एक हौ भन्ने नाराका साथ यो दिवस मनाउने कार्य भैरहेको छ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर मजदुर दिवस मनाइन्छ। सो आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो।

विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्‍यो। प्रहरीको गोली लागि सातजना मजदुरको मृत्यु भयो। मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गर्‍यो। सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका मजदुर संगठन एवम् श्रमिक नेताको बैठकले विश्व मजदुर दिवस विश्वभर मनाउने निर्णय गरेको हो।

त्यस यता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा मजदुर दिवस मनाउन सुरु गरिएको हो।
नेपालमा समेत मजदुर संगठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरेका छन् ।

नेपालमा विराटनरगमा विसं.२००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो। विसं.२०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन पनि थालिएको छ।

प्रकाशन मिति–२०७५ साल बैशाख १८ गते मंगलवार ।